नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर भएको छ ।
महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षण गर्न पार्टीका नेता–कार्यकर्ता खुलामञ्चमा जुटेका छन् ।
महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेपछि त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै आलोचना भएको थियो । पार्टीले कार्यक्रमअघि नै सार्वजनिक स्थललाई प्रयोगपछि पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताअनुसार क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोप्ने, माटो मिलाउने र हरियाली पुनःस्थापना गर्ने काम सुरु गरिएको हो ।
आइतबार नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भए । क्षति पुगेका स्थानमा चितवनबाट ल्याइएको दुबो रोपिएको छ । पार्टीका अनुसार पछिल्लो एक महिनादेखि नियमित सिँचाइ, मलखाद र मर्मतसम्भारको कामसमेत भइरहेको छ ।









