ललितपुरको गोदाबरीमा सोमबार सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो प्रस्ताव गरेका हुन्।
संविधान जारी भएको ८ वर्ष भइसकेकोले यसमा देखिएका जटिलता र अस्पष्टताको पहिचान गर्ने बेला भएको देउवाको भनाइ थियो।
संविधानले जारी गरेको शासकीय स्वरुपको मूलभूत विषयमा प्रभाव नपर्ने गरी संविधान संशोधनको लागि छलफल गर्न देउवाले प्रस्ताव गरेका हुन्।
उनले सत्ता गठबन्धन संविधान रक्षाको लागि गरेको कारण राजनीतिक स्थिरताको लागि यसको निरन्तरता जरुरी रहेको पनि बताए। त्यस्तै, भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने सन्दर्भमा पार्टीले तत्कालको राजनीतिक औचित्य र सान्दर्भिकताका आधारमा तय गर्ने पनि उनले बताए।
उनले भने, ‘गठबन्धन गर्ने सन्दर्भमा पार्टीले छलफल गरेर त्यसैबेलमा निर्णय लिनेछ।’
महासमिति बैठकले पार्टीलाई एकताबद्ध बनाएर लैजान थप बल पुग्ने देउवाको विश्वास व्यक्त गरेका छन्।
पार्टीको विधानले पार्टीलाई बलियो बनाउनुको साथै आन्तरिक लोकतन्त्र मजबुद बनाएको देउवाको भनाइ छ।
‘विश्वभरि नै आर्थिक मन्दी छ। कोभिड महामारीपछि हाम्रो मुलुकको अर्थतन्त्र पनि प्रभावित भएकामा केही सकरात्मक बन्दै गएको छ,’ उनले भने, ‘प्रतिकूल अवस्थालाई अनुकुल बनाउन सक्दछौँ, जनतामा नयाँ भरोसा दिन सक्छौँ। जनताको निराशालाई देखाएर लोकतन्त्र विरोधी गतिविधि कांग्रेसलाई मान्य हुने छैन।’
उनले कांग्रेसभित्र बहस हुने तथा अन्य दलहरुसँग प्रतिस्पर्धा हुनु पनि स्वभाविक रहेको उल्लेख गर्दै भने- ‘हो, कतिपय हाम्रा साझा बिषय छन्, देशको सार्वभौमसत्ता, अखण्डता, शान्ति प्रक्रियाका बाँकी काममा समान धारणा बनाउनुपर्छ।’
यसअघि कांग्रेसले चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रतिवेदनमा सभापति शेरबहादुर देउवाले नै असहमति जनाएका थिए।
सोमबारदेखि गोदावरी सुरु हुने महासमिति बैठकमा पेश गर्न महामन्त्रीका हैसियतमा थापाले तयार पारेको प्रतिवेदनमा पार्टीले चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने प्रस्ताव गरेका छन्। उक्त विषय नै निर्णय गर्नु नपर्ने भएकाले हटाउनुपर्ने अडान कांग्रेस सस्थापन पक्षले लिएको थियो।
त्यही विषयमा सहमति जुटाउन सभापति देउवा निवासमा महामन्त्री थापासहितका नेताहरुबीच भएको छलफल निष्कर्षविहीन भएको थियो।
गोदावरीमा महासमिति बैठक सुरु गर्न जानुअघि नेताहरुले प्रस्तावलाई सर्वसहमत बनाउने कोसिस गरे पनि दुवै पक्ष आ–आफ्नो अडानमा हुँदा छलफल निष्कर्षविहीन भएको हो। एक नेताका अनुसार महासमितिको उद्घाटनपछि फेरि छलफलमा बस्ने समझदारी भएको छ।