बाँकेमा प्रहरीले सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी सङ्कलन
मार्गरेखा संवाददाता
नेपालगञ्ज २७ साउनः बाँकेमा प्रहरीले एक सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी सङ्कलन गरेको छ । हालसम्म नेपालगञ्ज उपमहानगरपालका र कोहलपुर आसपासका करिब छसय बचतकर्ताको उजुरी सङ्कलन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उहाँले नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको बचत अपचनलविरुद्ध उजुरी सङ्कलन गरिएको र कति रकम अपचलन गरेको भन्ने निश्चित हुन बाँकी रहेको बताउनुभयो । प्रहरीले गत साउन ८ गते सूचना प्रकाशन गरेर बचतकर्तालाई उजुरी गर्न आह्वान गरेको थियो । “अब सहकारी सञ्चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु हुन्छ,” प्रनाउ डाँगीले भन्नुभयो । प्रहरीले यसअघि पनि समानता बचत तथा ऋण सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थालगायतको उजुरी सङ्कलन गरेको जनाएको छ ।