खेलकुद सङ्घहरूको प्रगति र विकासले मात्र समग्र खेल क्षेत्रको प्रवर्द्धन गर्न सकिन्छः मन्त्री चौधरी
मार्गरेखा संवाददाता
काठमाडौँ भदौ १२ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि खेलसँग आबद्ध सबै सङ्घहरूले थप प्रभावकारी काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) द्वारा आज यहाँ आयोजित सम्मान कार्यक्रममा मन्त्री चौधरीले खेलकुद सङ्घहरूको प्रगति र विकासले मात्र समग्र खेल क्षेत्रको प्रवर्द्धन गर्न सकिने बताउनुभयो । उहाँले आफू मन्त्री बनेको करिब डेढ महिनामा भएको र खेलकुद ऐन, नियमावलीलगायतका अध्ययन गरिरहेको तथा यसमै टेकेर नेपाली खेलकुदको विकासमा आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्री चौधरीलाई सम्मानपत्र प्रदान गर्नुभयो । उहाँले मन्त्री चौधरीको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुहुँदै नेपाली खेलकुदको विकासका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबीच समन्वय हुनु आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले खेलकुद सङ्घ बलियो हुँदा खेल क्षेत्रले राम्रो नतिजा दिने भन्नुहुँदै कराँते त्यसको उदाहरण बनेकाले अन्य सङ्घले पनि सोहीअनुसार अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । विभिन्न खेल सङ्घका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीको सहभागिता रहेको कार्यक्रममा मन्त्री चौधरीलाई सम्मान गरिएको थियो ।