आजदेखि आगामी तीन दिन अर्थात् भदौ २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी तीन दिन देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको हो ।
लुम्बिनीदेखि सुदूरपश्चिमका भेगमा धेरै ठूलो पानी पर्नसक्ने महाशाखाको अनुमान छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ महाशाखाले जनाएको छ । महाशाखाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारी वर्षाको अनुमान गरेको छ ।
त्यस्तै, लुम्बिनीको बर्दिया र कर्णालीको सुर्खेतमा पनि भारी वर्षाको सम्भावना छ । भारी वर्षा हुने स्थानमा भू-क्षय, बाढीपहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
देशका विभिन्न ठाउँमा हाल पानी परिरहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । तर, हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय प्रणाली थप विकसित भई उत्तर-पश्चिमतिर (नेपाल नजिक) सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।