नेपालगन्ज जेष्ठ ७ । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–२१ स्थित सडक किनारमा शंका लागेर हिडिरहेका दुई युवकमाथि गरिएको चेकजाँचमा लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी १९ वर्षीय समिर बेहेना र २१ वर्षीय ए.ए. रहेका छन्।
प्रहरीले दिएको जानकारीअनुसार मंगलबार दिउँसो, शंका लागेका दुई व्यक्तिलाई रोकी खानतलासी गर्दा उनीहरूका साथबाट लागुऔषध जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको हो। प्रारम्भिक परीक्षणमा सो पदार्थ ब्राउन सुगर भएको आशंका गरिएको छ। प्लास्टिकको खोलमा राखिएको उक्त पदार्थलाई जब्त गरी तोल्दा कुल ७० ग्राम २५० मिलिग्राम पुगेको जनाइएको छ।
प्रहरीले बरामद गरिएको पदार्थ लागूऔषध (नारकोटिक्स) अन्तर्गत पर्ने पुष्टि गर्दै दुवै युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता अनुसार, पक्राउ परेका युवकमाथि लागूऔषध सम्बन्धी कसूरमा आवश्यक कानुनी प्रक्रिया थालिएको छ।
यस प्रकारको घटनाले नेपालगञ्ज क्षेत्रमा लागूऔषधको समस्या गम्भीर रूपमा बढ्दै गएको संकेत गरेको भन्दै प्रहरी प्रशासनले लागुऔषध कारोबार तथा प्रयोगमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन विशेष निगरानी बढाइएको जानकारी दिएको छ।
स्रोतले दिएको जानकारीअनुसार, लागूऔषधको ओसारपसार र प्रयोगमा संलग्न व्यक्तिहरूमाथि प्रहरीले कडा कारबाही गर्ने जनाएको छ। साथै, युवाहरूमा बढ्दो लागूऔषधको लतलाई रोक्न सामुदायिक चेतना अभिवृद्धि गर्नसमेत प्रहरी प्रशासनले आम नागरिकसँग सहकार्यको अपिल गरेको छ।