बाँके, असार १५ — “धान उत्पादनमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ बैजनाथ गाउँपालिका, रामपुर बाँकेको आयोजनामा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ।
गाउँपालिका अन्तर्गत बेजनाथ–६, गहेरगाउँमा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक, महिलाहरू, युवाहरू तथा विभिन्न समुदायका स्थानीयवासीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रममा सहभागीहरूले परम्परागत पहिरन, घाँसको मालासहित सांस्कृतिक झल्को दिने गरी रोपाइँमा सहभागीता जनाएका थिए।
असार १५ गतेलाई नेपालमा “धान दिवस” को रूपमा मनाउने गरिन्छ, जसको उद्देश्य कृषकहरूको योगदानको कदर गर्नुका साथै धान उत्पादनलाई प्रवर्द्धन गर्नु हो। कार्यक्रममा किसानहरूलाई उत्साहित पार्ने खालका विविध सांस्कृतिक कार्यक्रम, समूहगत रोपाइँ, फोटो सेसनजस्ता गतिविधिहरू पनि समावेश गरिएका थिए।
बैजनाथ गाउँपालिकाले आगामी दिनहरूमा कृषिमा नवप्रविधिको प्रयोग, बीउ सुधार, सिँचाइको व्यवस्था र कृषि उत्पादन वृद्धिको कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले ब्यक्त गरेका छन ।