मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विमानस्थल डम्पिङ साइटमा परिणत, सरोकारवालाको बेवास्ता
  • जनक शाही

  • स्थानीय प्रशासन, विमानस्थल कार्यालय, गाउँपालिका तथा सरसफाइ सम्बन्धी निकायहरूले चासो नदिँदा पर्यावरणीय जोखिमसँगै यात्रुहरूको सुरक्षासमेत संकटमा पर्ने देखिएको छ । सिमकोट विमानस्थलको पार्किङ क्षेत्रमा बजार क्षेत्रबाट बगेर आउने फोहरले असर पार्न थालेको छ भने दुर्गन्ध र फोहरका कारण आगमन प्रस्थान गर्ने यात्रुहरू हैरान छन् ।

    विमानस्थल क्षेत्रलाई सुरक्षित, स्वच्छ र व्यवस्थित बनाउन पटक–पटक माग गरिए पनि सम्बन्धित निकायले स्थानीयवासीको गुनासो सुनुवाइ नगरेको विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए । यातायातको प्रमुख विकल्पका रूपमा रहेको यो एकमात्र विमानस्थलमा सरसफाइको अवस्था दिनप्रतिदिन बिग्रँदै जाँदा पर्यटन प्रवर्द्धनमा समेत असर पर्न थालेको छ ।

    अभिलम्ब व्यवस्थापन नगरे यसले गम्भीर परिणाम भोग्नु नपर्ला भन्न सकिँदैन । सिमकोट विमानस्थल वरपरको क्षेत्र डम्पिङ साइटमा परिणत हुँदै गएकोप्रति सरोकारवाला निकायहरू अझै पनि मौन छन् ।

    अत्यधिक संवेदनशील मानिएको यो क्षेत्रमा खुला रूपमा फोहर थुपारिँदा पर्यावरणीय जोखिममात्र होइन, उडान सुरक्षासमेत प्रभावित हुने प्रमुख सिंहले बताए ।

    पार्किङमा बगेर आउने फोहर व्यवस्थापनका लागि सिमकोट गाउँपालिकालाई पटक–पटक आग्रह गरिए पनि कुनै प्रभावकारी कदम चालिएको छैन । ‘बेलाबेलामा हामीले फोहर हटाउन अनुरोध गर्‍यौँ  तर पालिकाले जिम्मेवारीपूर्वक व्यवस्थापन गरेको देखिँदैन । वर्षाको समयमा त बजारभरिको फोहर बग्दै आउँछ र पार्किङ क्षेत्रभित्र छिर्छ, जसले दुर्गन्ध फैलाउँछ र विमानस्थल क्षेत्रमा चराचुरुंगी जम्मा हुन थाल्छन् । चराको उपस्थितिले जहाजको टेक–अफ र ल्याण्डिङमा प्रत्यक्ष असर पार्ने गर्छ । चराको जोखिमकै कारण कहिलेकाहीँ उडान नै प्रभावित हुन्छ’, सिंहले थपे ।

    यातायातको प्रमुख विकल्पका रूपमा रहेको सिमकोट विमानस्थलमा यस्तो अवस्थाले यात्रु, पाइलट, विमान कम्पनी र पर्यटक सबैको सुरक्षामा चुनौती खडा गरेको स्थानीयवासीको चिन्ता छ । साथै विमानस्थलको छवि र सन्देशमा समेत प्रतिकूल असर पर्न थालेको छ । अत्यधिक संवेदनशील मानिएको यो विमानस्थलको सुरक्षामा चुनौती खडा भएको भन्दै पटक–पटक सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराउँदै आएको भए पनि सुनुवाइ नभएको सिमकोट विमानस्थल श्रोतले जनाएको छ ।

    विमानस्थल सरसफाइका लागि पालिकाले निरन्तर पहल गर्दै आएको र पालिकाले बेलाबेलामा विमानस्थल वरपर सफाइ गरिरहेको छ । आज राति परेको भारी वर्षाका कारण बजारभरिको फोहर बग्दै पार्किङ क्षेत्रमा पस्दा समस्या देखिएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।

    दीर्घकालीन रूपमा फोहर व्यवस्थापनका लागि योजना निर्माण भइसकेको र अब छिट्टै प्रभावकारी उपायहरू कार्यान्वयनमा ल्याइने अध्यक्ष भण्डारीले जानकारी दिए । यो समस्या बारम्बार दोहोरिए पनि स्थायी समाधानमा कसैले चासो नदेखिएको गुनासो स्थानीयवासीको छ । फोहर व्यवस्थापनको अभावले पर्यटन प्रवर्द्धनमा समेत नकारात्मक असर पारिरहेको स्थानीय पर्यटन ब्यवसायी विनोद लामाले बताए ।

  • १६ असार २०८२, सोमबार १८:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित