कपिलवस्तु, असार २९ – काठमाडौंबाट दाङतर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटनामा परेपछि २९ जना घाइते भएका छन्।
लु.प्र ०२००१ ख ००४५ नम्बरको बस कपिलवस्तु जिल्लाको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा पर्ने बेल नदी नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा परी तीन जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २६ जना सामान्य घाइते भएका छन्।
गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ भने अन्य घाइतेहरूको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।