बाँकेको जानकी गाउँपालिकाभित्र व्यापक रुपमा आर्थिक अनियमितता भएको तथ्य बाहिर आएको छ । स्थानीय तहको चुनाव अघि गाउँपालिकाको कार्यालय व्यवस्थापनका लागी सरकारले एक करोड बजेट पठाएको थियो । उक्त बजेटबाट गाउँपालिका, वडा कार्यालय र कर्मचारीको क्वाटरमा आवश्यक पर्ने सामान खरिद, घरभाडा तथा ईन्धन लगायतमा संस्थागत रुपले अनियमितता भएको हो ।
गाउँपालिकाले सामान खरिदमा बजार भन्दा अत्यधिक रुपले मुल्य बढाएको, घरभाडा चलन चल्ती भन्दा बढी तिरेको र ईन्धन खर्च अस्वभाविक रुपले गरेको पाइएको छ । गाउँपालिकाका कार्यकारी अधिकृत पृतिभक्त गिरी, स्टोर किपर गुमानसिंह न्यौपानेको प्रत्यक्ष मिलेमतोमा भ्रष्टाचार गरेको स्थानीय बासिन्दाको आरोप छ ।
कार्यालयले खरिद गरेका सामानको मुल्य अधिकतम रुपले बढाएर गाउँपालिकाले बजेट खर्च विवरण पेश गरेको छ । गाउँपालिकाको कागजातमा उल्लेख भए अनुसार खरिद गरिएको अधिकांस सामानको मुल्य अस्वभाविक देखिएको छ । गाउँपालिकाको विभिन्न सामान खरिद, घरभाडा, ईन्धन लगायतबाट लाखौं रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको स्थानीयले बताएका छन् ।
गाउँपालिकाले दुई थान ल्यापटप खरिदमा मात्र ७८ हजार ६ सय रुपैयाँ भ्रष्टाचार भएको छ । डेल कम्पनीको दुई थान ल्यापटप (आई सेभेन) लाई १ लाख १९ हजार ३ सयका दरले कुल २ लाख ३८ हजार ५ सय ९९ रुपैयाँमा खरिद गरिएको उल्लेख गरिएको छ ।
यस्तै एचपी कम्पनीको डेस्कटप कम्प्यूटर (आई.थ्रि) ८ थान लाई ५५ हजारका दरले कुल ४ लाख ४० हजार रुपैयाँमा खरिद गरेको देखाएको
छ । जबकी बजारमा उक्त कम्प्यूटरको मुल्य ४८ हजारदेखि ५० हजार तथा ल्यापटपको मुल्य बढीमा ८० हजार रुपैयाँ पर्ने ब्यापारीहरु बताउँछन् ।
यसैगरी तीन थान ग्याँस सिलिण्डर खरिद बापत प्रति सिलिण्डर ११ हजार ८ सयका दरले कुल ३५ हजार ४ सय रुपैयाँ देखाइएको छ। बजारमा उपभोक्ताले ग्याँस सिलिण्डर ४ हजार रुपैयाँमा प्राप्त गरिरहेका छन् । यस्तै २ थान ग्याँस चुल्हो खरिदका लागी २९ सय ८० का दरले कुल ५ हजार ९ सय ६० रुपैयाँ उल्लेख गरिएको छ । बजारमा २५ हजार मुल्य पर्ने क्यानन फोटोकपी मेसिनलाई ३८ हजार रुपैयाँमा खरिद गरेको देखाइएको छ ।
यसैगरी ४४ हजार जति पर्ने ओप्नीमा प्रोजेक्टरलाई ५६ हजारमा खरिद गरेको उल्लेख छ । कार्यालय व्यवस्थापन गर्न भनी सरकारले दिएको १ करोड रुपैयाँ मध्ये गाउँपालिकाले सामान खरिद, घरभाडा, ईन्धन लगायत कामका लागी असार मसान्तसम्म आधा करोड भन्दा बढी बजेट खर्च गरिसकेको छ ।
यस विषयमा कार्यकारी अधिकृत गिरीले सामान खरिदमा अनियमितता नभएको जिकिर गरेका छन् । कार्यालय व्यवस्थापनका लागी गत चैतमा प्राप्त भएको एक करोड बजेट मध्ये करिव ५१ लाख रुपैयाँ असार मसान्त सम्म खर्च भइसकेको उनले जानकारी दिए । ‘केही असन्तुष्ट मान्छेले पूर्वाग्रह राखेर फसाउन खोजेका हुन,’ गिरीले भने ‘यदी अनियमितता गरेको प्रमाणित भएमा
कारबाही भोगौला ।’ खरिद गरिएको सामान गाउँपालिका सहित १ देखी ६ वटा वडा कार्यालय तथा कर्मचारी आवासमा प्रयोग भएको उनले बताए ।
गाउँपालिकाले सामान खरिदका साथै घरभाडा, ईन्धन लगायत शिर्षकमा ब्यापक आर्थिक अनियमितता गरेको भन्दै जानकी गाउँपालिकाका स्थानीय बासिन्दाले छानविन गरी आवश्यक कारबाही गर्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुर सम्पर्क कार्यालयमा निवेदन (उजुरी) दर्ता गराएका छन् । जानकी गाउँपालिका–३ निवासी नन्दकिशोर बर्मा सहित ५२ जना स्थानीयले सामान खरिद गरेको विवरण सहित सामुहिक रुपमा हस्ताक्षर गरी यही भदौं २७ गते दर्ता गराएका हुन् ।
स्थानीय बासिन्दाको उजुरी पश्चात अख्तियार टोली आएर गाउँपालिकाको कागजात नियन्त्रणमा लिई छानविन सुरु गरेको छ । ‘स–प्रमाण सहित अख्तियार समक्ष उजुरी दिएको हुनाले भ्रष्टाचारमा संलग्नलाई छानविन गरी कारबाही हुनेमा हामी विश्वस्त छौं,’ बर्माले भने ‘सुरुमा यस्ता भ्रष्टाचारीलाई कारबाही नगरी आँखा चिम्लिने हो भने भविष्यमा स्थानीय तहभित्र यो प्रवृत्ती झन् मौलाउने निश्चित छ ।’ स्थानीय बासिन्दाले भ्रष्टाचारमा कार्यकारी अधिकृत गिरी र स्टोरकिपर न्यौपानेले अधिकार दुरुपयोग गरी सरकारी सम्पत्तीमा हानी नोक्सानी पुर्रुयाएको भन्दै हदै सममको कारबाही गर्न निवेदनमार्फत माग गरेका छन् ।
गाउँपालिका अध्यक्ष रामनिवास यादवले आर्थिक अनियमितता भएको उजुरीका आधारमा अख्तियार टोलीले कागजात लिएर गएको बताए ।
नागरिकबाट साभार