मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उपचारका लागि भारत जानसमेत रोक
  • मार्गरेखा संवाददाता

  • उच्च पहाडी र हिमाली जिल्लामा गत १० मंसिरमा नै निर्वाचन सकिएको छ । तर, दास्रो चरणअन्तर्गत पहाडी र तराईका जिल्लामा बिहीबार हुने निर्वाचनमा सुरक्षाका लागि नेपालगन्जस्थित रुपैडिहा नाका बन्द गरिँदा काम र उपचारका लागि भारत जानेहरू अलपत्र परेका छन् ।

    सो नाकामा पैदलयात्रीलाई समेत हिँड्डुलमा प्रतिबन्ध लगाइएको छ । हिमाली र पहाडी जिल्लामा मतदान गरिसकेर कामका लागि भारत फर्किनेहरू यतिवेला रुपैडिया नाकामा रोकिएका छन् । उपचारका लागि भारत गएर फर्किंदै गरेका र उपचारमा गएकाहरू पनि नाकामा रोकिएका छन् ।

     

    उपचारका लागि भारत गएर मंगलबार बिहान फर्किंदै गरेकी नेपालगन्ज–२, घरबारी टोलकी मन्नी हलवाई दिनभर रुपैडिहामा रोकिइन् । उनले नाका बन्द हुने जानकारी नपाउँदा दुःख पाएको बताइन् ।

    ‘नेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्र देखाउँदासमेत भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले नेपाल आउन दिएन,’ उनले भनिन्, ‘आँगनमै आए पनि घरमा पस्न पाइएन ।’ नेपालमा नपाइने औषधि किन्नबाट समेत सर्वसाधारण वञ्चित भएका छन् ।

     

    नेपालगन्जमा नपाएपछि औषधि किन्न रुपैडिहा जाँदै गरेका बर्दियाका राजबहादुर चौधरीले हारगुहार गरेपछि प्रहरीले बल्लतल्ल रुपैडिहा जाने अनुमति दियो । उनी बुवाको ब्रेन ट्युमरको उपचार गराउन नेपालगन्ज आएका थिए ।

    ‘जसरी भए पनि औषधि लिएर आउन डाक्टरले भनेका छन्, लिएर नजाने हो भने बुवाको उपचारमा समस्या हुन्छ भनेका छन्,’ चौधरीले भने ।

    पहिलो चरणको निर्वाचनमा सहभागी भएर कामका लागि भारत फर्किंदै गरेका नेपालीले उता जान नपाएपछि खान र बस्नको चिन्ता भएको बताएका छन् । भारतको सिमला रामपुर जान लागेका जाजरकोटको लिम्सा गाउँपालिका–४, बारेकोटका ५९ बर्षीय कालिबहादुर महतराले सीमामा रोकिँदा खान र बस्न समस्या भएको बताए ।

    मतदान गरिसकेको परिचयपत्र देखाएपछि सीमा सिल भए पनि भारत जान पाइन्छ भन्ने सुनेर नेपालगन्ज आएको उनले बताए । उनीसहित बारेकोटबाट १२ जना सिमला जान नेपालगन्ज आएका छन् ।

     

    एकैदिन दुई हजारजना नेपाल प्रवेश
    जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा इलाका प्रहरी कार्यालय जमुनाहाले भारतको रुपैडिहामा अलपत्र परेका दुई हजारभन्दा बढीलाई नेपालगन्ज ल्याएको छ ।

    प्रहरी नायव निरीक्षक सुधीर खड्काले सीमा सिल भएका वेला पैदल आउजाउसमेत गर्न नमिल्ने भए पनि अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गर्न दिइएको बताए ।

    रुपैडिहामा अलपत्र परेका नेपालीलाई खान, बस्न र सुत्न समस्या हुन थालेपछि दुवै देशका सुरक्षाकर्मीको सहमतिमा साँझ र बिहान केही समयका लागि नेपाल आउन–जान दिइएको उनले बताए ।

    ‘नियम, कानुनभन्दा मानवीयता ठूलो भएकोले मानवीय नाताले सुरक्षाकर्मीको निगरानीमा नेपाल आउन दिएका हौँ,’ उनले भने ।

    बिरामीलाई नरोकेको प्रहरी भनाइ अति आवश्यक कामका लागि भारत जान र नेपाल आउन दिइएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) सुधीर खड्काले बताए ।

    उनले बिरामी बोकेको एम्बुलेन्स, बिरामी र पश्चिमा राष्ट्रका पर्यटकलाई जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा आउजाउ गर्न दिएको बताए ।

    ‘सुरक्षाको दृष्टिले भारतीयलाई नेपालमा राख्नुभन्दा जान दिनु उचित भएकाले भारत जान चाहने भारतीयलाई जान केही खुकुलो गरेका छौँ,’ उनले भने ।

    जिल्लाभर चेकजाँचमा कडाइ
    बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले मतदान सकिएर मतपेटिका सदरमुकाम नल्याएसम्म नाकाबाट आउजाउ गर्न पूर्ण रूपमा बन्द गरिने बताए ।

    जिल्लाभरि चेकजाँचमा पनि कडाइ गरिएको उनको भनाइ छ । चोक–चोकमा प्रहरी परिचालन गरी आवश्यकताअनुसार सवारीसाधन र सर्वसाधारणको ब्यागलगायतका सामान चेकजाँच गरिने बताए ।

    ‘सबै सुरक्षा निकायसँग समन्वय गरी निर्वाचन सुरक्षालाई चुस्त पारिएको छ, घटना भएको १० मिनेटमा सुरक्षाकर्मी पुग्ने व्यवस्था मिलाइएको छ,’ एसपी तामाङले भने ।नयाँ पत्रिका बाट

  • २० मंसिर २०७४, बुधबार ०७:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित