मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जल्नका निम्ति लासलाई एकरात छाडिन्छ
  • मार्गरेखा संवाददाता

  • काठमाडौंमा एउटा यस्तो मसानघाट छ, जहाँ लासमा आगो सल्काई मलामी घर फर्कन्छन् । र, भोलिपल्ट मात्र खरानी सेलाउन पुग्छन् ।
    दन्त्यकथाजस्तो लाग्ने यो चलन हो, कीर्तिपुरको । कीर्तिपुर–७ पाँगा क्षेत्रका नेवार समुदायमा अहिले पनि मानव शवलाई चितामा राखेर आगो लगाएपछि एक रातका लागि घाटैमा छाडिदिने चलन छ ।
    पाँगा क्षेत्रका नेवार समुदायमा कसैको मृत्यु हुँदा दाहसंस्कारका लागि स्थानीय विष्णुदेवी मन्दिर नजिकको घाटमा लैजाने गरिन्छ । घाटमा पु¥याएपछि लासलाई चितामा राखी दागबत्ती दिइन्छ । दागबत्तीपछि चितामा आगो सल्काएर किरियापुत्री र मलामी घर फर्कन्छन् ।
    सामान्यतः हिन्दू परम्पराअनुसार यसरी चितामा राखी आगो लगाएपछि लास नजलुन्जेल मलामी घाटमै बस्ने चलन छ । लास जलिसकेपछि विधिपूर्वक खरानी पखालेर किरियापुत्रीसहित मलामी घर वा नजिकको किरियापुत्री घर जाने गर्छन् । तर, हिन्दू परम्पराविपरित पाँगामा भने लासमा आगो लगाएर घर फर्केका मलामी र मृतकका आफन्त भोलिपल्ट बिहान मात्र घाट पुग्छन् । लास जलेर बनेको खरानीलाई विधिपूर्वक बाग्मती नदीमा सेलाउँछन् ।
    यो पाँगा क्षेत्रका खड्गी, शाही, महर्जन र श्रेष्ठ समुदायको घाट हो । यहाँ चारवटा चितास्थल छन् । चारवटै  चितास्थलमा शवदाहको एउटै पद्धति रहेको विष्णुदेवी मन्दिरका पूजारी वसन्त कपालीले बताए । ‘चितास्थलमा मात्र होइन, यहाँको जुनसुकै जमिनमा जलाए पनि तरिका एउटै हुन्छ,’ उनले भने, ‘साँझ परेपछि मलामी घाटमा बस्दैनन्, रातभर लास आफैँ भष्म हुन्छ, भोलिपल्ट बिहान मृतकका आफन्त आएर अन्य कर्मकाण्ड गर्छन् ।’
    साँझसम्म जलिनसकेको लास बिहानसम्म जलिसक्ने पूजारी कपाली बताउँछन् । भोलिपल्ट झिसमिसे बिहानमै मृतकका आफन्त आई चितास्थलबाट खरानी सेलाउन लैजाने चलन रहेको उनले बताए ।
    यो घाटमा चिता बनाउने तरिका पनि फरक रहेको कपालीले जानकारी दिए । यहाँ अन्य घाटमा जस्तो अग्लो तलाको चिता बनाइँदैन । चितास्थलमा जम्मा सात चिरा दाउरा राखी तीन तलाको चिता बनाइन्छ । ‘दाउरा थोरै र पराल धेरै हालेर लास जलाइन्छ, झमक्क साँझ परेपछि चितामाथि पराल थुपारेर मलामी फर्कन्छन्,’ कपालीले भने, ‘त्यही परालले रातभरमा लासलाई जलाउँछ ।’
    स्थानीयले विष्णुदेवीका कारण लास आफैँ जलेर खरानी हुने मान्यता राख्छन् । पानी परेका बेला समेत लास छाडेर जाँदा जल्ने गरेको कपालीको दाबी छ । ‘असारमा झमझम पानी परेको बेलासमेत लास जलेर खरानी हुन्छ,’ उनले भने ।
    पूजारी कपालीका अनुसार धर्मात्माको शव जल्ने र पापीको नजल्ने विश्वास स्थानीयमा छ । ‘पापधर्म हेर्ने ठाउँ पनि हो भन्छन्, जथाभावी मुख छाड्ने मान्छेको मुख नै जल्दैन भन्ने विश्वास छ,’ कपालीले भने । कसैको लास नजलेर लासको कुनै अंश बाँकी रहे बिहान आउने आफन्तले जलाउने चलन छन् ।
    कीर्तिपुर– ७ का वडाध्यक्ष राजकुमार मालीका अनुसार दैवी शक्तिका कारण शव आफैँ जल्ने विश्वास स्थानीयवासीको छ । ‘विष्णुदेवीलाई अग्निदेवी पनि मानिन्छ, अग्निदेवीकै शक्तिका कारण लास आफैँ जल्छ भन्ने विश्वास छ,’ उनले भने । यसको वैज्ञानिक कारणबारे भने कुनै खोजी नभएको मालीले बताए ।नागरिक दैनिकबाट

  • ३ पुष २०७४, सोमबार १२:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित