मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

‘मर्निङ्गवाक् उर्फ साइकिलिङ्ग’
  • मार्गरेखा संवाददाता

  • ‘मर्निङ्गवाक् उर्फ साइकिलिङ्ग’

    केही समय घुडाँ दुख्ने रोगबाट पीडित भएँ । ‘बाइक’ मात्रै चढ्ने बानीले कुज्याउन त थालेन ? यसै वर्ष चालिस काटेको छु । चालिसे आँखाबाट सुरु हुन्छ भन्ने सुनेको थिएँ । सायद मेरो खुट्टाबाट सुरु भएछ ? तेलले मालिस गरें केही दिन । दुखाइ बीसबाट उन्नाइस हँुदै भएन । डाक्टरसँग ‘कन्सल्ट्र’ गर्न सुझाइन् सुमित्राले । एक कानले सुनेर अर्को कानले उडाएँ ।
    म आत्तिएको थिइन मेरो रोगसँग । एउटै ‘पोजिसन’मा लामो समयसम्म बसेपछि त घुँडामात्र हैन के के दुख्छ दुख्छ ? यस्तै केही भएको होला भन्ने सोचाइलाई प्राथमिकता दिएको थिएँ । जस्तो तस्तो डाक्टरलाई विश्वास गरिहाल्न पनि त मन लाग्दैन । थोरै रोग धेरै औषधि बोकाउने डाक्टरहरुको कमी कहाँ छ र हाम्रो शहरमा ? औषधि देखेर ज्वरो थपिन सक्छ भन्ने अनुमानमा, ज्वरो ‘कन्ट्रोल’ गर्ने औषधि दिएर पठाउँछन् अनुभवी डाक्टरहरु । ‘एन्टिवायोटिक’ त सामान्य भै हाल्यो । ‘साइड इफेक्ट‘को के मतलब ? छिट्टै निको पार्न सके अच्छा डाक्टर । ‘मार्केट’ नबनी घर कहाँ बन्छ र ?
    सकेसम्म औषधि खान नपरोस् भन्ने चाहन्छु । खानै परे पनि तीतो भनेर मुख फाली हाल्ने बानी भने पटक्कै छैन । औषधि गर्न नगएका कारण धेरै पटक गुनासो सुनेको छु घरबाट । सहज देखाउन पनि नाटक गरेको छु कति पटक । यस पटक पनि मेरो नाटक चालु थियो । आफैंलाई ठगिरहेको त छैन ? भन्ने प्रश्नले चिमोटिरहन्थ्यो घरिघरि घुडाँ, तिघ्रा र साँप्रा वरिपरि ।
    मेरो समस्या समाधानका दुई विकल्पहरु थिए । डाक्टर वा योगभ्यास । दोस्रो विकल्प नै श्रेयकर लाग्यो । यसभन्दा पहिला योग सिक्ने कोशिष कहिल्यै गरिएन । तात्तातै कसले पो सिकाउँथ्यो र म बबुरोलाई ? नियम विपरित गरिएको योगले झनै बिगार्छ भन्ने सुनेको थिएंँ । मनमा छट्पटी भइरह्यो केही दिन । समाधान बिनाका समस्याहरु हुदै हुदैनन् , यही सिकाएका थिए मेरा गुरुहरुले । ‘मनिङ्गवाक्’को सट्टा ‘साइकिलिङ्ग’बाट समस्याको समाधान खोज्ने निचोडमा पुगें ।
    ‘मर्निङ्गवाक्’ गर्न खासै मन नपराउने म केही दिनदेखि ‘साइकिलिङ्ग’ गरिरहेको छु । अबेरसम्म सुत्ने मेरो बानी थाहा पाएका मेरा छिमेकीहरु आजभोलि मेरो क्रियाकलाप देखेर छक्क परेको हुनुपर्छ । जे होस् कसैले मुखै फोरेर प्वाक्क केही भनिहालेको भने छैन । घरका परिवारहरु उठ्नु पूर्व कोहलपुरलाई एक फन्को लगाएर फूर्ति देखाऊँ झैं लाग्छ । तर गतसाल घटेको घटनाले बिहानै नहिड्न सल्लाह दिन्छन् मेरा आफन्तहरु । एका बिहानै डुढुवा खोलाको नजिकै नेपालगन्ज हिडेको बाइकले पछाडिबाट ठक्कर दिएर छिमेकी दाहाल अङ्कलको झन्डै ज्यान गएन । घटना हुदाँ बगेको रगतको टाटो मेटिन वर्षायाम नै कुर्नु पर्यो । त्यो रगतको टाटोले जिउ जिरिङ्ग पारेको थियो धेरै पटक । सम्झदाँ अभैm पनि कस्तो कस्तो हुन्छ । एका बिहानै ‘मर्निङ्गवाक्’ हिड्ने दाहाल अङ्कल लामो समयसम्म हिड्नै सक्नु भएन बिचरा ।
    बाहिर चहल पहल हुन थालेपछि मात्र मेरो ‘साइकिलिङ्ग’ सुरु हुन्छ । ‘साइकिलिङ्ग’ यात्रामा हुदाँ आफूलाई पुष्कर शाह नै हुँ जस्तो पो लाग्छ । कस्तो शौख उनको ? साइकल मै विश्व परिक्रमा गर्ने । जिल्ला परिक्रमा गर्ने आँट नभएकोे म यो सुन्दा मात्र पनि असिन–पसिन हुन्छु । जेहोस् कोहलपुर घुम्न सक्छु भन्ने आँट भने पटक्कै घटेको छैन ।
    एउटै ठाउँ, एउटै दिशा बाराम्बार हिडिरहन भने मन नलाग्दो रहेछ । मेरो ‘साइकिलिङ्ग’ कहिले रोहिणी खोला , कहिले खड्गवार , कहिले एन. सि. सि. एन. त कहिले पिपिरीतिर हानिने गरेको छ । घाम उदाउनु अघि धेरै टाढा टाढासम्म उडान भरिसकेको हुन्छ मनले । देखेका , सुनेका र अनुभव गरेका कुराहरु मेरो साइकल सङ्गसँगै मनमा सवार गरिरहेका हुन्छन् । साघुँरा गल्लीहरु चौडा भएको बाटोले बिदेशी छनक दिएको र गगन चुम्मी महलका छेवै छेउ कोहलपुर मेडिकल कलेजसम्म पुग्दा आपूmलाई एक शहरीया जस्तो पो लाग्छ आजभोलि ।
    शहर सभ्याताको प्रतीक हो । शहरमा बिकासले तिब्र गति लिन्छ । बाटो , घाटो, बिद्युत , सन्चार, शिक्षा , स्वास्थ्य , रोजगार सबैमा शहरले द्रुत गतिमा प्रगति गर्छ भन्ने भनाइसँग म पटक्कै असहमत छैन । आप्mनै आखाँले शहरले प्रगति गरेको देखेको छु । मनले अनुभव गरेको छु शहरीया सुख सयललाई । मुटुले छामेको छु शहरीयाहरुको आत्मियतालाई ।
    सभ्यताको नाममा के नै भित्राएको छैन र शहरले ? सबै चिजमा प्रगति । स्वास्थ्यमा प्रगति, शिक्षामा प्रगति , बिद्युत तथा सन्चारमा प्रगति । प्रगतिले सीमा नाघिसकेको छ शहरमा । हुदाँहुदाँ चोरी, डकैती, गुन्डागर्दी, अविश्वास, असमझदारी र प्रदुषणमा समेत प्रगति नै प्रगति । मलाई त सभ्यताको प्रतीक हैन प्रगतिको प्रतीक पो भन्न मन लाग्छ शहरलाई ।
    साइकिल यात्रा सँगसगै मन डुलिरहेको छ र मन सँगसगै साइकिल यात्रा पनि । सिङ्गो कोहलपुर सम्झन्छु मैले । गल्ली–गल्ली डुल्छ मन र फराकिला रोडहरुमा दौडन्छ । पुरानो कोहलपुर र आधुनिक कोहलपुरका बीच जोड घटाउ गर्न मन लाग्छ । हिसाब मिल्दै मिल्दैन । न घाटा न नाफा । जुन कुनाबाट जोडे पनि , जुन कुनाबाट घटाए पनि उत्तर शुन्यको शुन्य । म रनभुल्लमा पर्छु । स्कुले जीवनमा कसैलाई टिक्न दिइन हिसाबमा । ‘डिक्टिन्सन’ हानेका प्रमाण पत्रहरु शोकेसमा सजाएर राखेको छु । कैयौं पटक सुम्सुमाउँदै मुस्कुराएको छु यी अंकहरु हेर्दै । तर आज हिसाबमा नै कमजोर साबित भएको छु । कोहलपुरे हिसाब किताब नमिल्दा । नाफालाई नाफा देखाउन सकिरहेको छैन । विकासको हिसाब मिलाउन सकिरहेको छैन ।
    ‘सकारात्मक परिवर्तनलाई विकास भनिन्छ ।’ हो मैले धेरै पटक घोकाएको छु मेरा बिद्यार्थीहरुलाई यो कुरा । यही परिभाषासँग दाँजिरहेको छु कोहलपुरलाई । सरकारले बाटो बनाई दियो । बाटामो परिर्वतन भयो । देश विदेशबाट भित्रिएको पैसाले व्यापार व्यवसाय फष्टायो । व्यापार व्यवसायमा परिर्वतन भयो । साना घरहरु ठूला भए, परिर्वतन भयो । स्कुलहरु कलेजमा परिणत भए, परिर्वतन भयो । साइकलको स्थान मोटरसाइकलले लियो, परिर्वतन भयो । हात हातमा मोबाइल हुनु पनि परिर्वतन नै हो । यस्तै यस्तै परिर्वतन धेरै कुरामा भएको छ तथापि यो परिर्वतनलाई विकास मान्न तयार भएको छैन मेरो हिसाब ।
    साइकलको चक्का सँगसगै मेरो दिमागको चक्का पनि फनफनी घुमिरहेको छ । बाटो वरिपरि डुलिरहेका छन् आखाँहरु । घरघरका छेउछाउमा छरपष्टिएका फोहरका डङ्गुरहरु हाँसिरहेका थिए त्यो पनि अस्पतालको आड लिएर दशबिगाहमा । पुकार र श्यामबहारका खोलहरु बाख्राका पाठापाठी उफ्रे जस्तै हावाका झोका सँगै ज्ञानोदय पुस्तकालयको छेउछाउ र क्याम्पस लाइनमा यताउता गर्दै थिए । टायरको गन्धले नाकै बन्द होला र धुवाले आँखै फुट्ला जस्तो हुदाँहुदै चपरगौढी पार गरेर कोहलपुर पुगेको थिएँ म । कोहलपुरमा पनि चैनले हिड्न दिएको थिएन फोहोर मैलाले । साइकल पच्छाउँदै आएका केही थान पलाष्टिकका थैलाहरुले साझा चोक पुग्दा नपुग्दै च्याप्प समाते साइकललाई । बिद्युत रोड पुगेर हटाएँ । हाइस्कुलसम्मै लखेड्दै थिए मलाई पलाष्टिकहरुले ।
    निर्माणका कामहरु धमाधम हुदँै छन् कोहलपुरमा । बाटो पेटी ढाकिने गरी निर्माण सामग्रीहरु थुपारिएका छन् । हो त यसमा घर मालिकहरुको के दोष ? घर त बनाउनै पर्यो नि ? ‘आफ्नो सुरक्षा आफै गर्नु पर्छ यात्रुले’ यस्तै सुनेको छु मैले पनि यिनीहरुकै मुखबाट धेरै पटक ।
    कोहलपुरमा सब थोक छ । बाटो , घाटो, बिद्युत , सन्चार, शिक्षा , स्वास्थ्य , रोजगार आदि । कोहलपुरमा कम छ भने चेतना मात्र कम छ । हैन हैन, चेतना पनि अब त केही न केही घरभित्र पसेको हुनुपर्छ । किनकि घरभित्रको फोहोर सडकसम्म त आयो नि आखिर । जेहोस् बाटोमा मिल्काइ दिएपछि विभिन्न संस्थाका मान्छेलाई उठाउन त सजिलो भयो नि । उनीहरुले फालेको फोहोर विशेष अवसरमा उठेको पनि त छ देखाउनै भए पनि । आफै व्यवस्थापन गर्न त चेतना पनि त हुनु पर्यो नि ? हुन पनि त फोहोर बोक्ने संस्कार हाम्रो कहाँ हो र ? संस्कार छोड्न पनि त भएन । अरुले देख्ने गरी फोहोर उठाए त असभ्य भै हालियो नि ? आफुलाई नगन्हाएपछि भै हाल्यो । त्यो जतासुकै मिल्काइयोस् । त्यसैले त डुढुवा खोलामा ढल मिसाउन पाउँदा मख्ख छन् कोहलपुरबासीहरु । हुन त जसले जे जान्यो त्यही गर्ने न हो ? यसमा कसैको दोष छैन, दोष छ भने केबल चेतनाको ।
    बाटो चौडा र ठूला–ठूला घर देखेर म पनि दङ्ग हुन्थें कुनै जमानामा । विकास भनेकै यही हो जस्तो पो लाग्थ्यो । चेतनाबिनाको विकास त पँलासको पूmल जस्तो पो हुँदो रहेछ । त्यसैले अब चेतनामा विकास हुनुपर्छ । सोचमा परिर्वतन आउनुपर्छ । सायद चेतनाबिनाको विकासलाई विकास मान्न सकेन मेरो चेतले र त हिसाब मिल्दै मिलेन ।
    ‘पश्चिम नेपालको शान, हरित कोहलपुर हाम्रो पहिचान’ भन्ने होडिङ्गवोर्डहरु चोक चोकमा राखिएका छन् । यहाँका अगुवाहरु पनि यसको विषयमा बहसमा उत्रिएका छन् । सुनेको छु कराडौं लगानी भएको छ रे हरित कोहलपुरका लागि । लगानीको सदुपयोग र दुरुपयोग हेर्नेहरुले हेरुन् । बोल्नेले त के के बोले बोले हरित कोहलपुरको बारेमा । बोलेर मात्र सिङ्गापुर हुने भए नेपाल जमानामा सिङ्गापुर बनी सक्थ्यो । बोली अनुसारको काम र काम अनुसारको नाम भए न मजा आउँछ । बाटो वरिपरि लगाइएका बिरुवाहरु छाडा बस्तुभाउले खाइरहेका हुन्छन् धपाउन लाज मान्छन् हरित कोहलपुरका ब्याख्याताहरु । ग्रीनबेल्टका बिरुवाको संरक्षण नगरी कसरी बन्छ हरित कोहलपुर ? बीच बीचमा टाँगिएका होडिङ्गवोर्डहरु नहटाई कसरी आउँछ सुन्दरता ? खै यसमा ध्यान गएको समाजका अगुवाहरुको ? नगर विकास र नगरपालिकाले देखेका छैनन् र यो कुरुपता ? हुन त नामै नगर गरुन् कसरी ? बसपार्कको फोहोर मैला र बाटैमा राखिएका भैसी गोठको बारेमा बोलेर दुष्मन हुनु छेैन मलाई । कुनै दिन बस चढ्न जादाँ फेला पर्न पनि सकिन्छ ?

    कुरा सकिएका छैनन् । मेरो ‘मर्निङ्गवाक् उर्फ साइकिलिङ्ग’ सकिएको छ । आफ्नै घर अगाडि अपरचित जस्तै ठिङ्ग उभिएको छु ढोका उघ्रने प्रतीक्षामा । तिघ्रा छाम्छु , घुँडा मुसार्छु र साँप्रा हल्लाउँछु , दुखाइको महसुस पटक्कै छैन यतिबेला ।

  • २७ श्रावण २०७४, शुक्रबार १६:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित