चितवनको राप्ती नदीले खतराको सूची नाघेको छ । राती ८ बजे ५० मिनेट जाँदा सम्ममा राप्तीको सतह ४ मिटर माथि पुगेपछि खतराको सूची नाघेको हो ।
जल तथा मौषम विज्ञान, जलमापन केन्द्र रजैयाका बद्रीबहादुर ढकालले राप्तीले रातीदेखि खतराको सूची नाघेको नारायणी अनलाईनलाई जानकारी दिनुभयो । उहाँले नारायणी अनलाईनसंग भन्नुभयो–“राप्तीले ४ मिटर सतह नाघेकोले खतराको अवस्था सिर्जना भएको छ, राप्ती छेउछाका बासीन्दा सचेत भएर बस्नु पर्ने बेला आएको छ ।”
राप्ती नदीले चितवनको पिप्ले, वीरेन्द्रनगर, कठार, कुमरोज, बछ्यौली, सौराहा, जगतपुर, पटिहानी, शुक्रनगर र मेघौलीलगायतका स्थानमा क्षति हुन सक्ने भएकोले यस क्षेत्रका बासीन्दालाई सचेत रहन आग्रह गरिएको छ । जिल्ला समन्वय समिति चितवनका सूचना अधिकारी बलराम लुईटेलले रातभर वर्षा हुन सक्ने भएकाले यस क्षेत्रका बासीन्दाहरुलाई सचेत रहन आग्रह गरिएको जानकारी दिनुभयो ।
यस्तै गयरातीदेखि परिरहेको अविरल वर्षाले चितवनको माडीलाई समेत प्रभावित बनाएको छ । यहाँका २ सय घर डुबानमा परेका थिए । आज साँझ सम्ममा पनि रिउ खोला खतराको अवस्थामा रहेको छ । यस्तै नारायणी नदीको सतह पनि बढ्दै गईरहेको छ । नारायणीको सतह राती ८:५० बजेसम्मा ५.८७ मिटर पुगेको छ । नारायणीको सतह ८.४ मिटर पुगेमा खतराको अवस्थामा पुग्ने छ ।
नारायणी अनलार्इन