नेपालगन्ज, माघ ८ । कथाकार सुमित्रा न्यौपानेको कथा संग्रह ‘आँखा र आँखाहरु’ माथि परिचर्चा कार्यक्रम सोमवार नेपालगन्जमा सम्पन्न भएको छ । मध्यपश्चिम स्रष्टा समाजको आयोजनामा भएको कार्यक्रममा कथासंग्रहमाथि समालोचक लेक प्याकुरेल, पुस्कर रिजाल र लेखक एवं पत्रकार शुक्रऋषी चौलागाईले समालोचनात्मक टिप्पणी गरे । टिप्पणी गर्दे समालोचक लेक प्याकुरेलले आँखा र आँखाहरु कथा संग्रहमा संग्रहित कथाका पात्रहरुले बोकेको विसङ्गतीवादि धारालाई उजागर गरे । आफुले लेखेका विभिन्न पात्रहरुले विसङ्गती बोकेको टिप्पणी सुनेपछि लेखिका न्यौपानेले आफुले सोच्दै नसोचेको कोणबाट कथालाई विश्लेषण गरिदिएकोमा आभार प्रकट गरिन ।
यसैगरि रिजालले संग्रह भित्रका कथाहरुको कथा बनोट र शन्देशलाई विश्लेषण गर्नुभयो भने र चौलागाईँले कथाहरुमाथि पाठकिय दृष्टिकोण प्रस्तुत गरे । टिप्पणीकर्ताहरुले कथासंग्रह आँखा र आँखाहरु एक शसक्त कथा संग्रह भएको बताएका छन भने आगामी दिनमा परिष्कृत लेखनका लागि लेखिकालाई सुझाव दिएका छन् । सुझावलाई मनन गर्दै निरन्तर परिष्कृत लेखनीमा सक्रिय रहने लेखिका न्यौपानेले प्रतिक्रिया दिनुभयो ।
वरिष्ठ कथाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मीको प्रमुख आथित्यता एवं मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष सृजन लम्सालको सभापतित्व र साहित्यकार इन्द्रराज पौडेल, महानन्द ढकाल, खगेन्द्र गिरि कोपिला, किरण आचार्य, अनुपमा करारालगायत दुई दर्जनबढि साहित्यकारहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।