मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भाग्यमानी ११ जोडी पति पत्नी सांसद्
  • मार्गरेखा संवाददाता

  • काठमाडौं : यो पटकको निर्वाचनबाट करिब एक दर्जन दम्पति सांसद बनेका छन् । अधिकांश पति प्रत्यक्षबाट निर्वाचित हुँदा पत्नीहरु समानुपातिकबाट सांसद् बनेका छन् । एमाले र माओवादी केन्द्रबाट संसदमा बन्ने दम्पति धेरै छन् । मधेसी दलबाट पनि दम्पति सांसद बनेका छन् ।

    निर्वाचन आयोगले निर्वाचनको नतिजा सार्वजनिक गरेपछि यस निर्वाचनमा १० भाग्यमानी जोडीले सांसद हुने अवसर पाएका हुन् । जसमध्ये नेकपा माओवादी केन्द्रबाट पाँच, नेकपा एमालेबाट चार र राष्ट्रिय जनता पार्टी नेपालबाट एक जोडी सांसद बनेका छन् ।

    यीमध्ये सबैभन्दा भाग्यमानी एमालेका पुराना नेता कृष्णगोपाल श्रेष्ठ भएका छन् । श्रेष्ठ काठमाडौ क्षेत्र नं. ९ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । श्रेष्ठकी पत्नी महिला नेतृ बीना श्रेष्ठ समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि निर्वाचित भएकी छन् ।

    माओवादी नेता देव गुरुङ र यशोदा सुवेदी दुवै सांसद बनेका छन् । गुरुङ र सुवेदी श्रीमान श्रीमती हुन् । गुरुङले लमजुङबाट प्रतिनिधि सभाको चुनाव जितेका हुन् भने सुवेदी समानुपातिकतर्फ जनजाति कोटाबाट सांसद् बनेकी छन् ।

    एमाले स्थायी समिति सदस्य शंकर पोखरेल र उनी श्रीमती सुजिता शाक्य पनि सांसदमा निर्वाचित भएका छन् । पोखरेल दाङ क्षेत्र २‘क’बाट निर्वाचित भएका छन् भने शाक्य एमालेको प्रतिनिधि सभाको समानुपातिकबाट सांसद बनेकी छन् । पोखरेल प्रदेश ५ का मुख्यमन्त्री भएका छन् ।

    एमाले केन्द्रीय सदस्य विरोध खतिवडा मकवानपुर क्षेत्र नं. २ वाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनकी श्रीमती तथा नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल समानुपातिकबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएको नेकपा एमालेले जनाएको छ ।

    माओवादी केन्द्रका महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् भने उनकी श्रीमती उषा पुन (गहतराज) प्रदेश ५ बाट प्रदेश सभामा समानुपातिक सांसद भएकी छन् ।

    एमालेबाट शेरबहादुर तामाङ र उषाकला राई दुवै सांसद बनेका छन् । तामाङ सिन्धुपालचोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । राई प्रदेश नम्बर १ बाट समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा चुनिएकी छन् ।

    माओवादी नेता वर्षमान पुन रोल्पाबाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् भने उनी श्रीमती ओनसरी घर्तीमगर प्रतिनिधि सभाको समानुपातिकबाट सांसद चुनिएकी छन् । ओनसरी दोस्रो संविधान सभाको सभाध्यक्ष पनि हुन् ।

    एमाले नेता रघुवीर महासेठ र उनी श्रीमती जुलीकुमारी महतो दुवै सांसद बनेका छन् । महासेठले घनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका छन् । महतो प्रतिनिधि सभाको समानुपातिकतर्फ महिला मधेशी कोटाबाट सांसद बनेकी छन् ।

    राष्ट्रिय जनता पार्टी(राजपा) का अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा र उनी श्रीमती डिम्पलकुमारी झा दुवै जना सांसद बनेका छन् । अनिल रौतहटको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । डिम्पल झा समानुपातिक तर्फ प्रदेश २ बाट प्रदेश सभा सदस्यमा चयन भएकी छन् ।

    माओवादी केन्द्रका नेता कृष्णध्वज खड्का प्युठानबाट प्रदेश सभामा निर्वाचित भएका छन् भने उनकी श्रीमती रेखा शर्मा समानुपातिकबाट प्रतिनिधि सभामा सदस्य भएकी छन् । खड्का प्युठानको क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित भएका छन् ।

    माओवादी नेता शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् भने श्रीमती सत्या पहाडी समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य भएकी छन् ।

    यद्यपि नेताहरुले भने पार्टीले नेता पत्नीका रुपमा नभई पार्टीमा महत्वपुर्ण भुमिका खेलेका कारण समानुपातिक सांसद बनाइएको बताएका छन् । नेताहरुको नेता पत्नीका रुपमा नभई महिला नेतृहरुले पार्टी र जनसंगठनमा पुर्‍याएको योगदानको कदर गर्दै सांसद बनाएर थप जिम्मेवारी दिइएको बताएका छन् ।

    अर्कातिर बर्दियाट पराजित भए पनि एमालेका उपाध्यक्ष तथा पुर्व गृहमन्त्री वामदेव गौतमकी धर्मपत्नि तुल्सी थापागौतम समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य भएकी छन् ।

    समानुपातिकतर्फबाट सांसद बनेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पत्नी मञ्जु खाँणलाई पार्टीले समानुपातिक सूचीमा राखे पनि अन्तिममा नाम काटियो ।अन्नपुर्ण पोष्टबाट

    दम्पति सांसद

    देव गुरुङ र यशोदा सुवेदी
    शंकर पोखरेल र सुजिता शाक्य
    महेश्वर गहतराज र उषा पुन (प्रदेश सभा)
    शेरबहादुर तामाङ र उषाकला राई(प्रदेश सभा)
    बर्षमान पुन र ओनसरी घर्तिमगर
    रघुवीर महासेठ र जुलीकुमारी महतो
    अनिलकुमार झा र डिम्पलकुमारी झा
    कृष्णध्वज खड्का र रेखा शर्मा
    शक्तिबहादुर बस्नेत र सत्या पहाडी
    विरोध खतिवडा र मुनु सिग्देल
    कृष्ण गोपाल श्रेष्ठ र बीना श्रेष्ठ

  • ५ फाल्गुन २०७४, शनिबार ०७:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित