काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा सोमबार भएको मतदानबाट ४४ मत प्राप्त गर्दै देउवा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रकाशमान सिंहको पक्षमा १९ मत परेको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको उम्मेदवारीलाई नेता विजयकुमार गच्छदारले प्रस्ताव र नेता मानबहादुर विकले समर्थन गरेका थिए । त्यस्तै पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सिंहको उम्मेदवारीलाई कोषाध्यक्ष सीतादेवी यादवले प्रस्ताव र नेता सञ्जयकुमार गौतमको समर्थन रहेको थियो ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । पार्टीको संसदीय दलको परिमार्जित विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ ।
देउवाले गच्छदारलाई बनाए संसदीय दलको उपनेता
संसदीय दलको नेता निर्वाचित भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले विजय कुमार गच्छदारलाई संसदीय दलको उपनेता बनाएका छन् ।
गच्छदार देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्दा गच्छदार प्रस्तावक बसेका थिए । यही बैठकबाट संसदीय दलको प्रमुख सचेतक मनोनयन गर्ने भनिएपनि त्यो नभएको बैठकपछि दलको नेता शेरबहादुर देउवाले बताए । सचेतक बारे छलफल भएपनि संसद बैठकमा जानु पर्ने भएकाले समय अभाव भएकाे बताइएकाे छ ।
देउवाले संसदीय दलको प्रमुख सचेतक डा. मिनेन्द्र रिजाललाई बनाउने सम्भावना छ । कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय बन्नेछ । यस्तै, संसदीय दलको उपनेता र राष्ट्रियसभा दलको नेता पनि संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा उल्लेख छ । त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था छ ।