सिराज खान
नेपालगन्ज, २४ बैशाख ः राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ का विभिन्न खोला र नहरमा गत बर्ष आएको बाढीबाट क्षतिग्रस्त भएका ८ वटा तटबन्ध र नहरको मर्मत सम्भार गरिएको छ ।
राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ मा पर्ने परुवा खोला, मदुई खोला, खोरिया खोला, दोन्द्रा खोला र माथेवासको खोलामा आएको भिषण बाढीले विभिन्न तटबन्ध र नहरमा ठुलो क्षति पुरयाएर खेतबाली समेत नष्ट गरेको हुँदा क्षतिग्रस्त भएका ती तटबन्ध र नहरको मर्मत सम्भार गरिएको गाउँपालिकाले जनाएको छ ।
सो गाउँपालिकाको वडा नम्बर २ मा बाढीले सबैभन्दा बढी क्षति पुर्याएको हुँदा यस पटक थप क्षति नपुगोस भन्ने उदेश्यले तटबन्ध र नहरको मर्मत सम्भार कार्य गरिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए ।
वडा नम्बर २ का ११ सय बाढी प्रभावित परिवारलाई लक्षित गरेर ती तटबन्ध तथा नहरको मर्मत सम्भार गराईएको जनाउँदै उनले सो कामका लागि प्रभावित परिवारकै सदस्यलाई काम दिएर नगद प्रदान गरी मर्मत सम्भारमा खटाईएको जनाए ।
त्यसका लागि सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमो बाँके युनेस्को क्लबले खाद्य सुरक्षा बृद्धि सम्बन्धि परियोजनानै संचालन गरेको छ ।
सोही परियोजना अन्तर्गत परुवा खोलाको मुहान मर्मत कार्य, परुवा सिंचाई नहर मर्मत कार्य, परुवा खोला तटबन्ध मर्मत कार्य, दोन्द्रा खोला नदी किनारा मर्मत कार्य, मदुई खोला तटबन्ध मर्मत, खोरिया खोला १ र २ को मर्मत तथा माथेवास खोलाको तटबन्ध मर्मतको काम गरिएको वडा नम्बर २ का अध्यक्ष मदन ओलीले बताए ।
बाढीले ती खोलाहरुको मुहान, तटबन्ध र नहरमा क्षति पुर्याएकोले प्रभावित परिवारबाटै उपभोक्ता समिति गठन गरेर उनिहरुलाई नै रोजगारी दिएर काममा लगाई मर्मत सम्भार गरिएको उनले बताए ।
आठवटा तटबन्ध र नहरको मर्मतपछि अब बर्षामा खेतबालीमा हानी नहुने पनि वडा अध्यक्ष ओलीको भनाई छ ।
बाढीले दोन्द्रा खोलामा गरेको कटानबाट खेतबालीमा पानी पसेर ठुलो क्षति भएको जनाउँदै तर अहिले सो खोलाको किनाराको मर्मत गरिएकोले अब पानी नपस्ने दोन्द्रा खोला मर्मत सम्भार उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्र ओलीले बताएका छन् ।
सो वडाका ११ सय प्रभावित परिवारका सदस्यलाई कामको लागि नगद दिएर रोजगारी समेत प्रदान गरी तटबन्ध, नहर, सिचाई र बाँधको मर्मत सम्भार गराइएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए ।
यसका साथै सो वडामा अगुवाहरुलाई विपद ब्यबस्थापन सम्बन्धि तालिम दिएर विपदको अग्रिम तयारी गर्न कार्ययोजना समेत तयार गर्ने कार्यक्रम रहेको उनले जनाए ।
ती सबै ८ वटा तटबन्ध र नहरको मर्मत सम्भारमा गीभ टु एसिया नामक दातृ निकायबाट प्राप्त भएको करिब ७८ लाख रुपैयाँ खर्च भएको बताईएको छ ।