मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा बैठकमा ओलीको ब्रिफिङ- चौतर्फी प्रहार भयो, प्रतिवाद गरौं !
  • मार्गरेखा संवाददाता

  • प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । पार्टीकै नेताहरुले समेत नबुझेर बोलेको भन्दै उनले एकतावद्ध भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् ।

    बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकारले सकारात्ममकरुपमै काम गरिरहेको दाबी गरे । तर, सरकारमाथि चौतर्फी प्रहार भइरहेको उनले बताए ।

    बैठकमा ओलीले भने, चाहे गोविन्द केसीको केसमा होस्, चाहे अरु केसमा होस् । सबै मिलेर सरकारलाई प्रहार गर्ने काम भइरहेको छ । हामीले दृढतापूर्वक प्रतिवाद गर्नुपर्छ ।’

    त्यसका लागि चाहिने एकता र दृढता पार्टी नेताहरुमा नदेखिएको भन्दै उनले असन्तुष्टि जनाए ।

    केन्द्रसँग प्रदेश र स्थायी सरकारको कामकारबाहीबारे समीक्षा गर्न छिट्टै स्थायी कमिटीको अर्को बैठक बोलाइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    बैठकमा पार्टीको विधान र नियमावलीबारे नेताहरुले सुझाव दिएका छन् र त्यसलाई समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिएको उनले बताए ।

    देशभित्र घेराबन्दी, बाहिरको साथ !

    ‘प्रतिक्रियावादी’ हरुले साना-साना ईस्युलाई लिएर, गोविन्द केसी, गंगामाया र निशेधित क्षेत्रलाई पोलिटिकल बाहना बनाएर कम्युनिष्ट सरकारमाथि सदन र सडक दुबै ठाउँबाट प्रहार गर्न कोसिस गरिराखेको प्रधानमन्त्रीलगायत अन्य नेताहरुले बैठकमा विश्लेषण सुनाएको सहभागी नेताले बताए ।

    कम्युनिष्टको सरकार बनेकोमा देशभित्रको एउटा वर्गलाई नपचेको नेकपाका नेताले निश्कर्ष निकालेका छन् ।

    तर, नेकपाको बैठकले प्रधानमन्त्री केपी ओलीको विदेश भ्रमण सफल भएको निचोड निकालेको नेताहरुले बताएका छन् । विदेश नीतिमा सरकार सफल रहेको प्रधानमन्त्रीको विश्लेषण थियो ।

    अन्तरराष्ट्रिय समर्थन सरकारलाई रहेकै कारण सरकारलाई बाहिरी पक्षबाट कुनै अप्ठ्यारो नरहेको बैठकमा विश्लेषण गरिएको थियो ।

    सरकार र सदन दुबैमा कमजोर

    प्रधानमन्त्रीले सरकारको बचाउ गर्न खोजे पनि बैठकमा बोल्ने नेताहरुले सरकारको आलोचना गरेका थिए । सरकारको कार्यसञ्चालन प्रभावकारी हुन नसकेको बहुमत नेताहरुको निश्कर्ष थियो ।

    बैठकमा सहभागी नेकपाका एक नेताले सरकारको प्रस्तुती सोचे अनुसारको भएन भन्ने एनालाइसिस भएको छ । धेरै नेताहरुले सरकारको काम राम्रो भएन भनेपछि बैठकमा यो लगभग आम सहमतिजस्तै भयो ।’

    त्यसैगरी मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरु एकरुतामा र एउटै लयमा चल्न नसकेको बैठकमा नेताहरुले विश्लेषण गरेका छन् ।

    संसदमा पनि पार्टीको प्रस्तुती प्रभावकारी भएको छैन भन्ने अधिकांश नेताहरुले बैठकमा विश्लेषण गरेका छन् ।

    त्यसैगरी सरकार सञ्चालनमा धेरै नेताहरुले असन्तुष्टि जनाएपछि तीनवटै तहका सरकार सञ्चालनबारे गम्भीर छलफल गर्ने गरी अर्को बैठक बोलाइने सहमति भएको नेताहरुले जानकारी दिएका छन् ।

    गोविन्द केसी, गंगामाया र निशेधित क्षेत्रलाई स-साना ईस्यु भनिएता पनि यसबारे कस्तो कदम चाल्ने भन्नेबारे बैठकले सरकारलाई कुनै ठोस सुझाव नदिएको एक नेताले बताए । प्रधानमन्त्रीले यी विषयमा प्रतिवाद गर्न आग्रह गरेका छन् ।

    मधेसमा प्रहरी भर्नाबारे चिन्ता

    नेकपाको स्थायी कमिटी बैठकमा प्रदेश नम्बर २ को सरकारले बेग्लै प्रहरी भर्ती गर्न लागेको भन्दै शुक्रबार केही नेताहरुले प्रश्न उठाए ।
    बैठकमा नेता भीम रावल र रघुजी पन्तले प्रदेश २ को प्रहरी संगठनबारे चिन्ता व्यक्त गरेका थिए ।

    प्रदेश सरकारले प्रहरी भर्ती गर्ने कुरा गरिरहेको र त्यस्तो भएमा राष्ट्रिय सुरक्षामा समस्या सिर्जना हुन सक्ने पन्त र रावलको चिन्ता थियो ।
    बैठकमा सहभागी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यसबाट नआत्तिन पन्त र रावललाई सम्झाए ।

    संविधानले नै प्रदेश प्रहरीको प्रावधान राखेका कारण प्रदेश सरकारले प्रहरी भर्ती गर्दैमा वा प्रहरी संरचना बनाउँदैमा त्यसलाई गलत भन्न नमिल्ने नेकपाका नेता एवं मुख्यमन्त्री पोखरेलले बैठकमा तर्क गरेका थिए ।

    त्यसैगरी अर्का नेता सुवास नेम्वाङले पनि संविधानले गरेको व्यवस्थालाई स्वाभाविकरुपमा लिनुपर्ने बताएका थिए ।पार्टी अध्यक्ष प्रचण्डले पनि संघीयता कार्यान्वयनमा देखा पर्ने यस्ता प्रश्नहरुहल हुँदै जाने भन्दै रावल र पन्तको चिन्तालाई मथ्थर पार्ने प्रयास गरेको बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।अनलाइनखबरबाट

  • २२ असार २०७५, शुक्रबार ०६:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित