बजेट अभाव र भौतिक पूर्वाधार निर्माण कार्य सुस्त हुँदा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि पनि सर्छ कि भन्ने अड्कलबाजी भईरहेको छ । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशब बहादुर विष्टले भने तोकिएकै समयमा प्रतियोगिता हुने दाबी गरेका छन् । बाँके र बर्दियामा जारी भौतिक पूर्वाधार निर्माण कार्यको अवलोकन गर्न आईपुगेका सदस्यसचिव बिष्टले शुक्रबार नेपालगन्जमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘अब कुनै पनि कारणले प्रतियोगिता सार्नुपर्ने अवस्था हामीले देखेका छैनौं ।’
तर सरकारले समयमै बजेट निकासा नगर्ने हो भने आफूहरुले चाहेर मात्र नहुने पनि बिष्टको भनाई थियो । उनले सरकारले समयमै बजेट निकासा गर्छ वा गर्दैन भन्नेमा सन्देह व्यक्त गर्दै भने, ‘बजेट अभाव भयो भने सबै भौतिक पूर्वाधार निर्माणको काम समयमै सम्पन्न हुन्छ र प्रतियोगिता पनि समयमै हुन्छ ।’ यसअघि मंसिरमा गर्ने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सारेर माघ २५ गतेदेखि फल्गुन दुई गतेसम्म गर्ने राखेपको बोर्ड बैठकको निर्णय छ ।
अब प्रतियोगिताको मिति नसर्ने आश्वस्त पार्दै सदस्य सचिव बिष्टले भने, ‘जिल्ला स्तरको छनौट प्रक्रियाको काम सुरु भईसकेको छ । मंसिर १४ देखि २१ गतेसम्म जिल्लाबाट खेलाडी छनौट गरी डेढ महिना प्रशिक्षण पछि प्रदेश स्तरीय प्रतियोगिता हुन्छ । जहाँबाट छनौट भएका खेलाडीहरुलाई १० दिन बन्द प्रशिक्षणमा राखेर फागुन २५ गतेदेखि हुने राष्ट्रिय प्रतियोगितामा सहभागि गराईन्छ ।’
सदस्य सचिव बिष्टले भौतिक पूर्वाधार निर्माणको काममा सरोकार राख्नेहरुलाई आफूले समयमै काम सम्पन्न गर्नेगरी तदारुकता देखाउन र प्रत्येक हप्ताको प्रगति विवरण बुझाउन निर्देशन पनि दिईसकेको बताउँदै भने, ‘कुन प्रतियोगिता कहाँ हुन्छ भन्ने अबको १० दिन भित्रमा टुंगो लाग्छ । कुनै ठाउँमा भौतिक पूर्वाधार निर्माण सम्पन्न नभएर खेल गराउन सम्भव नभए त्यसको विकल्प पनि हामीले सोचिसकेका छौं ।’
आठौं राष्ट्रिय प्रतियोगितामा ३५ वटा खेलमा प्रतिस्पर्धा हुँदैछ । यो पटक प्याराग्लाईडिङ खेल थपिएको तथा स्नुकर र ब्लियर्ड हटाईएको पनि सदस्य सचिव बिष्टले जानकारी दिए । उनले प्याराग्लाईडिङ खेल भौतिक पूर्वाधारको अभावमा पोखरामा गर्ने पनि बताए । अन्य सबै खेलहरु ५ नम्बर प्रदेशमै आयोजना हुने उनको भनाई थियो ।
जाडोको मौसम र निर्माण कार्यमा केही ढिलाई हुन सक्ने भएकाले स्विमिङ् खेल भने फागुनमा गर्ने सोचमा राखेप रहेको बिष्टले जानकारी दिए । लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेको नेपालगन्ज रंगशालास्थित स्विमिङ पुल माघ महिना भित्रमा पुरा हुने पनि बिष्टको दाबी थियो ।
राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणको काम पछिल्लो २ बर्षमा ५० प्रतिशत मात्र सम्पन्न भएको छ । अबको ३ महिनामा बाँकी ५० प्रतिशत काम कसरी पुरा होला भन्ने पत्रकारहरुको जिज्ञासामा सदस्य सचिव बिष्टले भने, ‘कुनै काम सम्पन्न भएका छन्, कुनै भएकै छैनन् भने कुनै काम अन्तिम चरणमा छन् । सरदरमा हेर्दा ५० प्रतिशत काम सम्पन्न भएको देखिएको हो । कतिपय पूर्वाधारका काम फिल्डमा नभएर फ्याक्ट्रीहरुमा निर्माण भईरहेकोले काम नभएको जस्तो देखिएको मात्र हो । फिल्डमा गर्नुपर्ने काम अब थोरै छ । अब खुरुखुरु काम हुन्छ ।’
राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माणतर्फ करिब १ अर्ब ११ करोड रुपैयाँ माग गरिएकोमा सरकारले अहिलेसम्म करिब ३८ करोड मात्र उपलब्ध गराएको छ । भौतिक पूर्वाधार निर्माणको काममा अँझै आवश्यक करिब ७३ करोड रुपैयाँ सरकारले कहिले उपलब्ध गराउँछ भन्ने टुंगो लागिसकको छैन । त्यस्तै प्रतियोगिता आयोजनाका लागि आवश्यक ४२ करोड रुपैयाँमध्ये सरकारले अहिलेसम्म १८ करोड रुपैयाँ मात्र उपलब्ध गराएको छ । तर सरकारले समयमै रकम निकासा गर्ने र प्रतियोगिता समयमै हुनेमा राखेप विश्वस्त छ ।