कोहलपुर नगरपालिकाको चौथो नगरसभा आगामी माघ ९ सम्मका लागि स्थगित भएको छ । बुधबार र बिहीबार दुई दिनसम्म बसेको सभाबाट विद्यायन समिति, शुसासन समिति र लेखा समिति गठनका लागि सहमति जुट्न नसकेपछि नगर सभा माघ ९ गते पुनः बस्ने गरी स्थगित गरिएको हो । नगर सभामा विद्येयक समितिका संयोजक भिम नेपालीले प्रस्तुत गरेको नगर स्वास्थ्य ऐन ,२०७५ र नगर सभा समिति गठन नियमावली, २०७५ संशोधन सहित पारित भएको नगर सभाका सचिव प्रेम प्रसाद देवकोटाले बताए ।
सभामा काँग्रेसबाट निर्वाचित कोहलपुर नगरपालिका उपप्रमुखसहित वडा अध्यक्ष, सदस्य लगायत जनप्रतिनिधीहरुले नगरपालिकाको आर्थिक पारदर्शिता, विषयगत समितीका विषयमा आफनो माग सुनुवाई नभएको भन्दै आधा घण्टा भन्दा बढी समय रोष्टम घेराउ गरेर सभा चलन दिएका थिएनन् ।
सो क्रममा वडा नं.१० का अध्यक्ष निम बहादुर चलाउनेले नगरपालिकामा करोडौँ बेरुजु आएको र त्यस प्रति नगरपालिका जिम्मेवार नभएको आरोप लगाए । यस्तै सभामा कार्यपालिका सदस्य नारायणी वलीले भने उहाँहरुले भनेको जस्तो आर्थिक बेरुजु नआएको प्रतिवेदन महालेखाले दिएकोले त्यसको पुष्टीपछि मात्रै बाँकी कुरा स्पष्ट हुने बताइन् ।
साथै उनले कानुन अनुसार नै कार्यपालिका अगाडी बढेको पनि जानकारी दिइन् । सो क्रममा सभाअध्यक्ष रावतले प्रमुख लुट बहादुर रावतले संसदिय अभ्यासको गलत व्याख्या नगर्न काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आव्हान समेत गरेका थिए ।