काठमाडौँ — सरकारले संघ, प्रदेश, आयोग र स्थानीय तहमा कार्यरत ५८ जना सहसचिवको एकैपटक सरुवा गरेको छ । राजस्व अनुसन्धानले छानबिन सुरु गरेको सुन र ललिता निवास जग्गा काण्डमा मुछिएका दुई सहसचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।
सरुवाको सूचीअनुसार अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीलाई संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । उनलाई सुन काण्डका मुख्य व्यक्तिको रुपमा चिनिएका दावा छिरिङसँग सिधा सम्पर्क रहेको भन्दै सीआइबीले बयान लिइरहेको छ । उनलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक भएकाबेला चोरीपैठारी रोक्न असफल भएको आरोपमा गत कात्तिकमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई केही दिन आफ्नो कार्यालयमा राखेर गृह मन्त्रालय पठाएका थिए । गृह पठाए लगत्तै अध्यागमनको महानिर्देशक बनाइएको थियो । कर, राजस्व र अध्यागमनमा रहँदा उनले सुन तस्करसँग सम्बन्ध बढाएको अनुमान सीआइबीको छ ।
त्यस्तै ललिता निवास जग्गा काण्डमा मुछिएका सुशील वैद्यलाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । दाङमा प्रमुख जिल्ला अधिकारी रहेकाबेला जग्गा काण्डमा छानबिन हुन थालेपछि उनलाई गृह मन्त्रालय तानिएको थियो । काठमाडौं मालपोत कार्यालयमा रहकाबेला उनको संलग्नता ललिता निवास जग्गामा मुछिएका थिए । सुन बरामद भएकाबेला बिदामा रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयमा पठाइएको छ । यसअघि उनलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा सचिव रहेको तुलसीराम भट्टराईलाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।
त्यस्तै संघीय मन्त्रालयमा सरुवा र पदस्थापनमा महत्त्वपूर्ण भूमिका रहने शक्तिशाली महाशाखाको रुपमा रहेको प्रशासन प्रमुख हेमराज तामाङलाई संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ । तत्कालिन संघीय मन्त्री अमनलाल मोदीले तामाङलाई उक्त जिम्मेवारी दिएका थिए । संघीय मन्त्रालयमा राष्ट्रिय योजना आयोगबाट सुमन दाहाललाई लगिएको छ । सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिव नारायणप्रसाद रेग्मीलाई संघीय मामिला मन्त्रालय सरुवा गरिएको छ । भन्सार विभागको महानिर्देशकसमेत भइसकेको दाहाललाई महत्वपूर्ण महाशाखा जिम्मा लगाउने तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगेको स्रोतको भनाइ छ ।
सहरी विकास मन्त्रालय अन्तर्गत रहेका रवीन्द्र बोहरालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । साही मन्त्रालयका प्रदीप परियारलाई योजना आयोग सरुवा गरिएको छ ।
संघीयका बलाराम रिजाललाई गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिवमा पठाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा रजिष्ट्रार पदमा डेढ वर्षभन्दा बढी समय बसेका महेश बराललाई योजना आयोगमा सरुवा गरिएको छ । लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीलाई ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ । त्यस्तै लोकसेवा आयोगमा रहेका प्रदीप कोइरालालाई वन तथा वातावरण मन्त्रालय सरुवा गरिएको छ ।
वाग्मती पदेशको आर्थिक मामिला मन्त्रालयका सचिव महेश आचार्यलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ । गृहका शिवराम न्यौपानेलाई लोकसेवा आयोग पठाइएको छ । योजना आयोगका प्रकाश दाहाललाई बाग्मतीको आर्थिक मामिला मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । वाग्मती प्रदेश मुख्यमन्त्रीको कार्यालयमा रहेको शिवराम गेलाललाई गृह मन्त्रालय सरुवा गरिएको छ । वाग्मती प्रदेश प्रमुखको कार्यालयमा रहेका ओमबहादुर खड्कालाई नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।