मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

साई स्वागत सहकारीको बदमासी : बचत डुबाइयो, विपन्न महिला खोजेर अध्यक्ष–उपाध्यक्षमा उभ्याइयो
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ —जोरपाटीमा डेरा बसेर तीन छोराछोरी हुर्काइरहेकी एकल महिला निमकुमारी छन्त्याल सातादेखि छटपटीमा छिन् । कारण उही हो, सहकारी । तर, उनी न बचतकर्ता हुन्, न ऋणी । बरु मासिक १५ हजार पारिश्रमिक पाउने भनेर एउटा संगठित समूहले उनलाई सहकारीको अध्यक्ष बनाएको थियो । त्यही सहकारीे करोडौं बचत अपचलनको अनुसन्धानमा तानिएपछि उनको भोक–निद्रा हराएको छ ।
     समस्याग्रस्त सहकारीको सूचीमा परेपछि काठमाडौं महानगरपालिकाको सहकारी विभागले अघिल्लो बुधबार साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको थियो । भरतमणि जंगम अध्यक्ष रहेको सहकारी संकटमा पर्दै गएपछि योजनाबद्ध रूपमा सोझीसिधा एकल महिला खोजेर सहकारी जिम्मा लगाइएको थियो । तर महानगर र नेपाल प्रहरीले अनुसन्धान गर्दा छन्त्याललाई अध्यक्ष बनाएर खास योजनाकारहरू उम्किन खोजेको खुलासा भएको हो ।

    कुनै बेला जंगम टेलिभिजनमा ‘कालो सुर्य’ कार्यक्रम चलाउँथे, तत्कालीन सञ्चारकर्मी रवि लामिछानेसँग उनको मित्रता त्यहीँ बेला बनेको थियो । २०७५ मा एउटा पारिवारिक झमेला मिलाउन रविलाई रकम आवश्यक परेपछि आफ्नै सहकारीबाट बिनाधितो ५० लाख कर्जा दिलाइदिएको जानकारी जंगमले महानगरको अनुगमन टोलीलाई दिइसकेका छन्

    बिनाधितो रकम दिएको पुष्टि गर्दै उनले दुवै पक्ष मिलेर गैरकानुनी काम गरेको पनि स्विकारेका छन् ।  प्रतिक्रिया दिँदै उनले भने, ‘रविलाई पैसा चाहियो भनेपछि पैसा दिएको हो तर धितो थिएन । त्यसको सट्टा निकितालाई उपाध्यक्ष बनाइएको हो, पद नै धितो भयो ।’

    सहकारीको पदाधिकारी हुने र त्यही पद धितो राखेर पैसा निकाल्न मिल्ने व्यवस्था कानुनमा छ र भन्ने  प्रतिप्रश्नमा जंगमले भने, ‘उपाध्यक्ष वा कुनै पदाधिकारीले आफैं ऋण लिन त मिल्दैन नि त । तर मुख्य उद्देश्य नै सहकारीको ऋण लिने भन्ने थियो, त्यसैले उपाध्यक्ष बनाइएको हो तर कानुनअनुसार यसो गर्न मिल्दैन । गैरकानुनी कामको जिम्मेवार कार्यसमितिका अध्यक्ष/उपाध्यक्ष तथा ऋणी दुवै पक्ष हुनुपर्ने उनको भनाइ छ ।’

    ५० लाख रुपैयाँलाई आधा–आधा गरेर निकिता र रवि दुवैका नाममा सारिएको जंगमको भनाइ छ । ‘दुवैको खातामा २५/२५ लाख लगिएको हो, तीन महिनामा फिर्ता गर्ने भने पनि पैसा नआएपछि पटक–पटक ताकेता गर्नुपरेको थियो । पछि चुक्ता गर्ने बेलामा उनीहरूले अनुरोध गरेपछि करिब साढे तीन लाख हर्जाना मिनाहा पनि गरिएको हो,’ जंगमले भने ।

    सहकारीको रकम भुक्तान गरेपछि निकिताले राजीनामा दिएको र गत असार ९ मा राजीनामा स्वीकृत गरिएको पनि जंगमले बताए । तर निकिताले २०७७ असोज ८ मा नै राजीनामा दिएको भनाइ जंगमको छ । राजीनामा स्वीकृत गर्न करिब ३ वर्ष किन लाग्यो भन्ने प्रश्नमा उनले भने, ‘राजीनामा साधारणसभाबाट पारित भएपछि मात्र लागू हुन्छ । त्यसैले लामो समय लागेको हो ।’ यद्यपि साधारणसभा पनि २०७९ को मंसिर १२ मा भइसकेको थियो जबकि निकिताको राजीनामा गत असारमा मात्र स्वीकृत भएको अभिलेख दर्ज गरिएको छ ।

    गत मंसिरमा भएको यही साधारणसभाबाट अरू सबै उम्किने प्रपञ्चअनुसार विपन्न तथा एकल महिला निमकुमारीलाई अध्यक्ष बनाइएको थियो । पदाधिकारी आफैंले ऋण लिने, बिनाधितो कारोबार गर्ने र रकम आफूखुसी खर्च गर्ने प्रवृत्तिले यो सहकारी संकटमा परेको थियो ।

    योजनाकारहरूलाई उम्काउने योजनाअनुसार मासिक १५ हजार तलब हुने भन्दै फकाई फुल्याई निमकुमारीलाई अध्यक्ष राखिएको महानगरको प्रारम्भिक अनुसन्धानबाट पनि देखिएको छ ।

    आफू अध्यक्ष रहेको सहकारीको बचत रकम अपचलन भएको, यसका सञ्चालक सदस्यहरू फरार रहेको तथा यसबारे प्रहरी र महानगरपालिकाले अनुसन्धान गरिरहेको तथ्य निमकुमारीले समाचार आएपछि मात्रै थाहा पाएकी थिइन् । ‘तपाईंको नाम पत्रपत्रिकामा आएको छ भनेर अरूले भनेपछि पो थाहा पाएँ, सुन्नेबित्तिकै मेरो त होसहवास नै उड्यो,’ उनले भनिन् ।

    कुराकानीमा निमकुमारीले आफू कसरी सहकारीको अध्यक्ष भएँ भन्नेबारे पनि खुलाइन् । ‘सात वर्षअघि श्रीमान् बितेपछि तीन छोराछोरीको पढाइ खर्च जुटाउन अप्ठ्यारोमा परिरहेकाले जागिरको खोजीमा थिएँ, सहकारीमा धेरै केही गर्नु पर्दैन । अध्यक्ष बन्नुस्, कहिलेकाहीं अफिस जाने हो । महिनाको १५ हजार तलब आउँछ भनेर मलाई अध्यक्ष बनाए,’ उनले भनिन् ।

    अध्यक्ष बनेपछि उनी केही दिन सहकारीको अफिस पनि गइन् । तर सहकारीमा बचत गर्न आउन छाडिसकेका थिए भने बचत फिर्ता माग्नेहरू धाउन थालिसकेका थिए । सञ्चालकहरू पनि हराउन थालेपछि उनी अफिस जान त छाडिन् ।

    उनलाई अध्यक्ष बनाउन कोही साथीको नागरिकता दिनुस् भनिएको थियो, त्यसैले बाजुराकी साथी निशा खड्काको नागरिकता दिएकी थिइन् । यही नागरिकताका आधारमा निशालाई सहकारीको उपाध्यक्ष बनाइएको थियो । ‘उसलाई पनि मलाई जस्तै केही थाहा छैन, ऊ त अहिले वैदेशिक रोजगारीमा दुबई पुगिसकेकी छ,’ निमकुमारीले भनिन् ।

    कागजमा सहकारीको अध्यक्ष बनाइएकी निमकुमारीले सहकारीबाट प्रवाह भएको कर्जा र यसको सम्पत्ति हिनामिनाबारे आफूले केही थाहा नपाएको बताइन् । सहकारीको विषयमा प्रहरी र महानगरपालिकाले गरेको अनुसन्धानबाट आफूले दुःख पाउनुपर्ने हो कि भन्ने चिन्ता उनीमा छ ।

    सहकारीका निवर्तमान अध्यक्ष रहेका जंगमले आफू अध्यक्ष बन्ने बेलामा सहकारीमा राखेको ५० लाख रुपैयाँ आफूले समेत नपाएको र आफू न्यायका निम्ति दौडधुप गर्नुपर्ने बाध्यतामा परेको बताए । उनले आफू यो सहकारीमा रामहरि अधिकारीका कारण जोडिएको बताए । रामहरि यो सहकारीमा २०७५ पुस २८ को साधारणसभापछि लेखा समिति संयोजक थिए । जंगम भने सहकारीको अध्यक्ष ।

    साई स्वागत सहकारी डुबाएका रामहरिसहितको समूहले काठमाडौंकै राधास्वामी सहकारीबाट अध्यक्ष जंगमको हस्ताक्षर किर्ते गरेर ९५ लाख अन्तरसहकारी कर्जा लिएको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा छ । साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष निमकुमारीलाई बनाएपछि रामहरिले यो सहकारीलाई ‘हाम्रो नयाँ कृषि सहकारी’ मा मर्ज गर्ने प्रक्रिया थालेको पनि भरतमणिले बताए । हाम्रो नयाँ कृषि सहकारी त्यही संस्था हो, जसको उपाध्यक्षमा वर्तमान श्रममन्त्री तथा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र केन्द्रीय सदस्य कवीन्द्र बुर्लाकोटी थिए । हाम्रो नयाँ कृषि सहकारीका एक पदाधिकारीले साई स्वागतलाई मर्ज गर्ने भनिए पनि प्रक्रिया बीचमै अवरुद्ध भएको बताए ।

    काठमाडौं महानगरपालिकाले भने साई सहकारीको विषयमा अनुसन्धान जारी रहेको बताएको छ । यो सहकारीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष रहेका बेला उनले बिनाधितो ५० लाखको कारोबार गरेको तथ्य भेटिएको महानगरको दाबी छ । ‘चार्टर्ड एकाउन्टेन्टहरूले यो सहकारीको विषयमा अध्ययन गरिरहनुभएको छ । केही दिनभित्रै मेयरलाई प्रतिवेदन बुझाउनु हुनेछ,’ अनुसन्धानमा संलग्न महानगरका एक अधिकारीले भने, ‘प्रतिवेदनका आधारमा यो सहकारीलाई के गर्ने भन्नेबारेमा टुंगो लाग्छ । अनुसन्धान जारी छ ।’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उक्त सहकारीको दर्ता, सञ्चालक समिति, कारोबारलगायत विवरण उपलब्ध गराउन भन्दै गत मंसिर २१ मा काठमाडौं महानगरलाई पत्राचार गरेको थियो । यसपछि महानगरले अनुगमन थालेको थियो । साभार कान्तिपुर दैनिकबाट

  • २९ चैत्र २०८०, बिहीबार ०८:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित