मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध हुन्डीको ९८ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार राति अवैध हुन्डीको ९८ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा रुपन्देही सियारी–७, का २८ वर्षीय समिर सुनार र रुपन्देहीकै २९ वर्षीय मिलन विक छन् । उनीहरूलाई कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो ।

    प्रहरीलाई बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट कारभित्र शंकास्पद रकम र अवैध सुन समेत रहेको सूचना पुगेको थियो । उक्त सूचना पाएलगत्तै उपत्यका प्रहरी कार्यालयको टोली उक्त कारको खोजीमा लाग्यो ।

    कार सिंहदरबार दक्षिणगेट हुँदै हनुमानथान तिर जाँदै थियो । प्रहरीको टोलीले उक्त कारलाई पिछा गर्दै गयो । कार समिर सुनारले चलाएका थिए ।

    ड्राइभरको सिटसँगैको अगाडिको सिटमा मिलन विक थिए । पछाडिको सिटभरि कार्टुन राखिएको थियो । तर, प्रहरीले कारलाई बाटोमै रोकेर जाँच गर्ने हिम्मत गरेन । जब कार मालिगाउँ पुग्यो । प्रहरीको टोलीले कार रोक्न लगाएर प्रहरी वृत्त मालिगाउँभित्र छिराउन आग्रह गरे ।

    प्रहरी कार्यालयभित्र पुगेपछि उपत्यका प्रहरी कार्यालयको टोलीले कारभित्र खानतलासी गर्‍यो । सोही क्रममा प्रहरीले कारभित्र कार्टुनमा प्याक गरेर राखिएको अवैध ९८ लाख रुपैयाँ बरामद गरेको हो । अवैध रकमसहित पक्राउ परेका मिलन र समिरमाथि अनुसन्धान गर्दै जाँदा मिलन सुन तस्करीमा समेत संलग्न रहेको खुलेको हो ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र दोलखा प्रहरीले गएको असोजमा दोलखाको बिगु गाउँपालिका–१, बाट बरामद गरेको ११ किलो सुन तस्करी प्रकरणमा उनको संलग्नता खुलेको थियो । चीनबाट सुन तस्करीका लागि हुण्डीबाट र क्रिप्टोमार्फत् मिलनले रकम पठाउने काम गर्ने गरेका थिए । त्यस्तै समिर समेत सुन तस्करीमै संलग्न रहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका मिलन र समिरलाई उपत्यका प्रहरी कार्यालयको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौं टेकु पठाइएको कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।साभार १२ खरीबाट

  • २८ बैशाख २०८१, शुक्रबार १७:२७ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित