मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डुबान न्यूनीकरणका लागि बर्षेनी नाला सफाई गर्दै नेपालगञ्ज उपमहानगरपालिका
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज जेष्ठ २८ । नेपालगञ्जमा गत बर्ष तुलनात्मकरुपमा कम डुबान भयो । उसो त तराई क्षेत्र, घना सहर अनि भएको निकास पनि कम प्रभावकारी हुँदा नेपालगञ्ज बर्षेनी डुबानमा पर्ने गर्दछ । तर, गत बर्ष बर्खा अगावै आमरुपमा सहरका साना ठूला नाला सरसफाई गरिँदा नेपालगञ्जमा डुबान कम देखियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरकी जयन्ती क्षेत्री गत बर्ष कम डुबान भएको अनुभव सुनाउँछिन् । “पोहोर बर्खा सुरु हुनु भन्दा अघि नाला सफाई भएपछि हामीलाई लागेकै थियो यस बर्ष कम डुबान हुन्छ भन्ने,” क्षेत्री भन्छिन्, “नालामा पानी निर्वाधरुपमा बग्न पाउँदा खासै डुबान देखिएन ।” उनले दोन्द्रा नालामा पानी छचल्किएको देख्दै आएकोमा गत बर्ष त्यस्तो नदेखिएको पनि बताइन् । पानीको निकास सहज भए डुबान धेरै न्यूनीकरण हुने नेपालगञ्ज–४ बसपार्कका सुरज भण्डारीको भनाई छ । नेपालगञ्ज उपमहानगरपालिकाले बर्खा सुरु हुनु भन्दा पहिले राम्रोसंग नाला सफाई गरे डुबान धेरै कम हुने उनको विश्वास छ । क्षेत्री र भण्डारीले जस्तै कैयौं नेपालगञ्जबासीले नाला सफाईको कामलाई सराहना गरेका छन् । यो कामलाई प्रत्येक बर्ष निरन्तरता दिनुपर्ने नागरिक मत छ ।

    नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन गत बर्ष जस्तै यस बर्ष पनि बर्खा सुरु हुनु पहिले नाला सफाई गरिएको छ । बर्खायाममा हुने डुबानबाट नेपालगञ्जलाई जोगाउन यहाँका साना ठूला मुख्य नालाहरु गत बर्षदेखि आमरुपमा सफाई गर्न थालिएको हो । विगतमा सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नालाको सफाई गर्ने गरिए पनि गत बर्षदेखि भने बर्खा अगाबै आमरुपमा सबै नाला सफाई गर्न थालिएको वातावरण तथा सरसफाई शाखाका सुपरभाइजर दिपेश श्रेष्ठ बताउँछन् ।

    मुख्य नालाको अन्तिम विन्दु (आउटलेट) बाट सफाई थालिएको थियो । “अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ जहाँ अबरोध छ, त्यसमा राम्रोसंग काम गर्न सजिलो हुन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरेका थियौं,” नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा सरसफाई शाखाका प्रमख वातावरण इन्जिनियर प्रकाश डिसी भन्छन्, “बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालासहित अन्य नाला पनि सफाई गरेका छौं ।” स्काभेटरले सफाई गर्न सक्ने ठाउँमा स्काभेटर र स्काभेटरले गर्न नसक्ने ठाउँमा दैनिक ज्यालादारीमा मान्छे नै लगाएर नाला सफाई गरिएको इन्जिनियर डिसी बताउँछन् ।

    नगर प्रमुख प्रशान्त विष्ट नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य समस्याको रुपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य तथा सहायक नालाहरु सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि गत बर्षदेखि बर्खा अगाबै सफाईको काम सक्ने उद्देश्यका साथ नाला सफाई गर्न सुरु गरिएको बताउँछन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्र डे«नेजको पर्याप्त नेटवर्क भएपनि सहजरुपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको नगर प्रमुख विष्टको दाबी छ । “विगतमा बजारको वरिपरि मात्रै सफाई गर्ने काम भयो, गत बर्षदेखि भने हामीले अन्तिम विन्दुबाट आमरुपमा नाला सफाई गर्ने गरी काम सुरु गरेका छौं, अब झरीको बेला डुबानको समस्या निकै कम हुने विश्वास लिएका छौं,” उनी भन्छन् ।


    नालाको ढक्कन खोल्न सकिनेलाई ढक्कन खोलेर र खोल्न नसकिने नालामा उपकरणको प्रयोग गरेर नाला सफाई गरिएको वातावरण तथा सरसफाई शाखाका सुपरभाइजर श्रेष्ठको भनाई छ । श्रेष्ठले मनसुन सुरु हुनु अगावै काम सक्ने गरी नाला सफाईको अभियान अगाडि बढाएको बताउँछन् । जथाभावी फालिएका प्लाटिकजन्य बोतल र विभिन्न वस्तु, सिसाका बोतल, माटो लगायतका कारण नालामा पानीको निकास नहुँदा स्थानीयवासीले डुबानको सास्ती खेप्दै आएका छन् । गत बर्ष पनि बर्खा अगाबै नाला सफाई गरिएपछि डुबानको समस्या तुलनात्मकरुपमा कम देखिएको थियो ।

    वडा तहमा पनि वडा कार्यालयहरुले आफ्नो स्रोत साधनले भ्याएसम्म नाला सफाई गरिरहेका छन् । नालामा जथाभावी फोहोर फाल्दा ब्लक भएर निकास थुनिँदा आकाशको पानीले डुबान निम्त्याउने गरेकोमा आम नागरिकले पनि सावधानी अपनाउनुपर्ने वातावरण इन्जिनियर डिसीको आग्रह छ । डुबान न्यूनीकरणमा सबैको हातेमालो र प्रयास आवश्यक रहेको उनको ठम्याई छ ।
  • २८ जेष्ठ २०८१, सोमबार ०७:२८ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित