नेपालमा मनाइने अनेकन चाड पर्वमध्ये इस्लाम धर्मावलम्बी हरूकोे महान पर्व बकर इद (इदुल अज्हा) पनि एक हो । यो पर्व तीन दिन मनाइने गरिन्छ । यस वर्ष नेपालमा यो पर्व शुक्रवार, शनिवार र आइतवार गरी तीन दिन मनाइदैछ ।
इस्लाम धर्मावलम्बीहरूले नयाँ वर्षको रूपमा मनाउने यो पर्व नेपाललगायत विश्वभरिका मुस्लिम समुदायहरूले धूमधामका साथ मनाउने गर्छन् ।
कुर्वानी गर्नुपर्ने प्रमुख विशेषता रहेको बकरइदमा मुस्लिम समुदायका लागि हज र कुर्वानी अनिवार्य मानिन्छ । इस्लामको पाँच आधारस्तम्भ आस्था, नवाज, हज, रोजा र जकातममध्ये हजलाई मुख्य मानिन्छ ।
इस्लामी क्यालेण्डर अनुसार १४३५ हिजरी (साल) को अन्तिम महिना जिलहिजा दिन यो पर्व विश्वभरि मनाउने चलन छ ।
यस पर्वको इतिहासलाई केलाउँदा बडो अनौठो लाग्छ । इस्लामिक धार्मिक ग्रन्थ कुरानमा उल्लेख भए अनुसार पैगम्बर हजरत इब्राहिम लाई सपनामा अल्लाहले आफ्नो सबभन्दा प्यारो चिजलाई अल्लाहको नाममा बलिदान गर्ने आदेश दिनुभयो ।
अल्लाहको आदेशलाई स्वीकार्दै हजरतले संसारका सबभन्दा प्यारो चीज आफ्नो छोरा इस्माइल अलैया हिस्सलामलाई बलि दिने निर्णय गर्नुभयो । बलि दिने निर्णयमा छोरा सहमत हँुदैन भन्ने डरले हजरतले यो कुरा आफ्नो छोरोलाई बताउनु भएन । छोरोलाई बलि दिनका लागि गाउँ बाहिर लैजाने क्रममा अदृश्य आवाजले छोरो इस्माइललाई ‘तिम्रो बुबाले तिमीलाई अल्लाहको नाममा बलि दिन लैजादैछ’ भन्ने जानकारी दिए । त्यसपछि छोराले ‘अल्लाहको नाममा बलि चढ्नुभन्दा राम्रो काम दुनियाँमा केही पनि छैन, अल्लाहको नाममा मलाई बलि दिने निर्णय गरेर तपाईले ठीक गर्नुभयो’ भन्दै बुबा हजरतलाई भने । ‘मलाई बलि दिने क्रममा तपाईको हात नकामोस्, त्यसका लागि तपाईले त्यसबेला आँखामा पट्टी बाँध्नुहोला’ छोरा इस्माइलले बुबा हजरतलाई फेरि भने ।
कुरानअनुसार हजरतले छोराको घाँटीमाथि जुन बेला चक्कु चलाए, त्यसबेला मानिसको सट्टा बाख्राको आवाज सुनियो । छोरा इस्माइल केही पर सकुशल मुस्काउँदै खडा थिए । सोही दिनको सम्झनामा विश्वभरिक इस्लाम धर्मावलम्बी हरूले बकर इद मनाउने गरेको भनिन्छ । बोकाको बलि दिई मनाइने यो पर्वमा बलि दिएपछि जन्नत (स्वर्ग) को बाटो खुल्छ भन्ने विश्वास छ । कुरानअनुसार यस पर्वमा स्वस्थ्य चौपायाको कुर्वानी दिनुपर्छ । इस्लामिक मुलुकहरूमा जति ठूलो चौपायाको कुर्वानी दिने त्यति नै बढी धर्म हुने विश्वास भए पनि नेपालमा खासगरी खसी बोकाको नै बलि दिइने गरिन्छ । यस समुदायका सम्पन्न व्यक्तिले तीन दिन नै बलि दिने गरे पनि सामान्य आर्थिक अवस्था भएकाहरूले एक दिन मात्र बलि दिने गर्दै आएका छन् ।
यस पर्वमा हाँस, कुखुरालगायत साना पशुपक्षीको बलि दिइँदैन । कुर्वानीका लागि उपयुक्त मानिने पशुपक्षी स्वस्थ्य हुनुपर्छ । कुर्वानी दिइने पशुको सिङ, कान र पुच्छर काटेको हुनुहुँदैन । ठूला पशुमा सातजना मिलेर र खसी र बाख्रामा एकजनाले कुर्वानी दिनुपर्ने नियम रहेको छ ।
कुरानअनुसार कुर्वानीको मासुलाई तीन भागमा बाँड्नुपर्छ । यसमध्ये एउटा भाग आफ्नो घरमा राखिन्छ । दोस्रो र तेस्रो भाग क्रमश ः मस्जिदमा पठाइन्छ र आफन्त कहाँ बाँडिन्छ । भनिन्छ, हजरतले मक्का मा विजय हासिल गरेपछि कुर्वानीलाई व्यवस्थित गरिएको हो । बलिदानीका दिन बिहानै उठी नित्य कार्य सकेर गाउँबाट पर खुला मैदानमा गई नवाज (एक किसिमको प्रार्थना) पढ्नु पर्छ । त्यसपछि घर फर्कि बलि दिइने गरिन्छ । आर्थिक अवस्थाका कारण बलि दिन नसक्नेहरूको घरमा पनि यस पर्वको रौनकता छाओस् भन्ने उद्देश्यले बलिको मासु
(तनुका) बाँडिन्छ ।
तीन दिनसम्म बलि दिनेहरू कहाँ पहिलो बलि घरमुलीको नामबाट दिइन्छ भने बाँकी बलि परिवारका अन्य सदस्यको नामबाट दिइने चलन रहेको छ । जसको नामबाट बलि दिइन्छ त्यो व्यक्तिले बलि सम्बन्धि सम्पूर्ण कामको समापन नभएसम्म कुनै प्रकारका अन्न जल ग्रहण गर्नु हुँदैन भन्ने मान्यता छ । जसको नामले बलि दिइन्छ त्यो व्यक्तिले बलिको मासु प्रसादको रूपमा ग्रहण गरिसकेपछि मात्र बलिदान सम्पन्न र सफल भएको मानिन्छ ।
यस पर्वको अवसरमा विश्वभरिका लाखौं मुस्लिमहरू मक्कामदिना हजका लागि जाने गर्छन् । यस समुदायमा मक्कामदिना हज गर्न जान सक्नुलाई ठूलो धार्मिक सफलता मानिन्छ । मक्कामदिना जानेहरू त्यहाँ कैद गरी राखिएको भनिएका शैतानमाथि ढुङ्गा हान्ने गर्छन् । हानिएको ढुङ्गा शैतानमाथि लागेपछि मक्कामदिनाको हज सफल भएको मानिन्छ ।
सदियौंदेखि कायम रहँदै आएको नेपालीहरू बीचको धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ मजबुत बनाउन राज्यले यस पर्वलाई पनि राष्ट्रिय पर्वको मान्यता दिई यो वर्ष शुक्रवारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।