गतवर्ष पनि बैजनाथ–७ को पेडारीमा आयोगले जग्गा नापजाँचको काम सुरु गरेको थियो । त्यस लगत्तै सरकारले आयोगलाई विघटन गरेपछि काम बीचमै रोकिएको थियो । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष शाहीले राम्रो कामको सुरुवात जहिले पनि बैजनाथ–७ बाट आफुहरुले गर्दै आएकोमा जग्गा नापजाँचको काम पनि सोही वडाबाट सुरु गरिएको बताए । उक्त वडाको पेडारी ‘शहिद’ बैजनाथ थारुको जन्म गाउँ हो । २००७ सालको आन्दोलनका क्रममा उनी सहिद भएका थिए ।
‘हामीले असार मसान्तभित्रमा लालपुर्जा बाँड्ने तयारी गरेका छौं, कुनैपनि विवाद आयो भने वडामा रहेको सहजीकरण समितिले समाधान गरिदिनुपर्छ,’ अध्यक्ष शाहीले भने । भूमिहिन सुकुम्वासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने काममा सबै राजनीतिक दलले अपनत्व लिनुपर्ने उनले बताए । ‘सानातिना विवादमा कोही पनि अल्झिनु हुदैन, नापजाँच गरिसकेपछि पनि धेरै चरणहरु पार गर्नुपर्छ,’ उनले भने । अध्यक्ष शाहीका अनुसार बैजनाथ गाउँपालिकाभरी कुल १० हजार १ सय १२ परिवार भूमिहिन सुकुम्वासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासी रहेका छन् । यि मध्ये ७ हजार ५ सय ७४ परिवार अव्यवस्थित बसोबासी, १ हजार ६ सय ८ परिवार भूमिहिन सुकुम्बासी र ९ सय ३० परिवार भूमिहिन दलित रहेका छन् ।
यस्तै आयोग बाँकेका अध्यक्ष खनालले आफ्नो कार्यकालमा जिल्लाका सबै भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीलाई लालपुजाँ बाँडिने बताए । आयोग बाँकेका अनुसार जिल्लाभर ५३ हजार ७ सय ५ जना भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासी रहेका छ । यि मध्ये ४३ हजार २ सय २६ परिवार अव्यवस्थित बसोबासी, ६ हजार ७ सय ९८ परिवार भूमिहिन सुकुम्बासी र ३ हजार ६ सय ८१ परिवार भूमिहिन दलित रहेका छन् ।
उनले बाँकेका तीन वटा स्थानीय तहमा चालु आर्थिक वर्ष २०८१/०८२ भित्रै लालपुर्जा बाँड्ने तयारी भइरहेको जानकारी दिए । बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाका केही वडाहरुमा जग्गा नापजाँच गरी लालपुर्जा बाँड्ने तयारी अगाडी उनले बताए । ‘यि पालिकाहरुमा जग्गा नाप जाँचको काम चलिरहेको छ, आगामी असार मसान्तभित्र यि पालिकाको केही वडाहरुमा लालपुर्जा वितरण गर्ने आयोगको योजना छ,’ उनले भने । यस्तै बैजनाथ-७ का वडाअध्यक्ष दिनेशकुमार थारुले जनताका लागि बोल्ने भन्दा पनि काम गरेर देखाउनुपर्ने बताए । ‘जग्गा नापजाँचको काम छिटो भन्दा छिटो सम्पन्न गरेर रिजल्ट ल्याउनुपर्छ,’ उनले भने ‘जनताले धेरै वर्षदेखी आशा गरेर बसेका छन् ।’