काठमाडौ अषाढ १९ । नेपाली कांग्रेसले नेकपा (एमाले) सँग भएको सहमतिलाई पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट अनुमोदन गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको सहमतिलाई बुधबार बिहान बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको हो।
तत्काल केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेका बेला विधानअनुसार कार्यसम्पादन समितिबाट कांग्रेसले निर्णय गर्ने गर्छ।
सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि एमालेसँग सहकार्य गर्ने समझदारी बनेको र त्यसैलाई अनुमोदन गरिएको प्रवक्ता प्रकाशशरण महतले बताए। महतका अनुसार यो मुद्दामा सहमत भएका अन्य दलहरूलाई पनि संवादमा ल्याइनेछ।
सरकारको नेतृत्व सुरूमा एमाले अध्यक्ष ओली र चुनाव गराउने गरी सभापति देउवा प्रधानमन्त्री बन्ने समझदारी बनेको छ,’ उनले भने, ‘राष्ट्रिय सहमति नै बनाउने कोसिस भइरहेको छ।’