काठमाडौं । सामान्यतः वर्षायाममा घरभित्र र बाहिर साङ्ला धेरै भेटिन्छ । जुनदेखि सेप्टेम्बरसम्म साङ्ला प्रजननका निम्ति सक्रिय हुने हुँदा यो मौसममा बढी देखिने विभिन्न अध्ययनहरूको तथ्य छ ।
साङ्ला खानेकुरा मन पराउने किरा हो, यो शाकाहारी र मांशाहारी दुवै हुन्छ । सामान्यतः साङ्लाले मानिसलाई टोक्दैन । मानिसको नङ, मुखको वरिपरी अड्किएको खाना खोज्ने क्रममा बालबालिका र ठूलो उमेरका व्यक्तिलाई पनि कोतर्ने गरेको भने पाइन्छ ।
यसबाहेक बालबालिकाले खाना खाएर सुतेको समयमा मुखको वरीपरी बाँकी रहेको खाना खान कोट्याएको पाइएको थियो । साङ्लाले वनस्पति र मासु दुवै खाने भएकाले मानिसका औँलाको ट्प्पाहरू, पैतालाको छाला पनि हल्का टोक्ने गरेको पाइएको छ ।
सीडीसीका अुनसार यसले जिवित र मृत दुवै शरीरको छाला खान्छ । हालसम्म विश्वमा देखिएकामध्ये ओरियन्ट र जर्मन साङ्ला जोखिमपूर्ण रहेको पाइएको छ । ओरियन्ट साङ्ला अरुभन्दा सानो गाढा कालो र खुट्टाहरूमा काँडाजस्तो देखिने झुसे हुन्छ ।
यो एसियाली मुलुकहरूमा धेरै पाइन्छ । दराज र भान्साका कुनामा अन्डा पार्ने ओरियन्ट उड्न सक्दैन । यसले मानिसलाई टोक्नेभन्दा जथाभावी दिसापिसाब गर्ने हुनाले यसलाई छोएमा छालामा एलर्जी, घाउ र सुन्निने समस्या देखिनसक्छ ।
खानामा यसले छोएमा मात्रै पनि संक्रमण हुनसक्छ । अमेरिकन र जर्मन साङ्लाले पनि मान्छेलाई टोक्छ । जर्मन साङ्ला उड्नसक्ने र मानिसलाई टोकेर एलर्जी गराउनसक्ने भएकाले बढी जोखिमपूर्ण हुन्छ । एसियन प्रजातिको साङ्ला समान्यतः घरबाहिरै बस्छन्, कहिलेकाहीँ मात्रै भित्र आउँछन् । यिनिहरू उड्छन् पनि । यिनले टोकेमा लामखुट्टेले टोकेको जस्तै ठूलो घाउ हुनसक्छ । तर, ठूलो संक्रमण भने भएको पाइएको छैन ।
वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन साङ्लाले टोकेर बिरामी नै भएको रेकर्ड नेपालमा हालसम्म नभएको बताउँछन् । निदाएको समयमा औँलाको टुप्पा, पैतालाको छालामा टोकेर हल्का घाउजस्तो बनाएका व्यक्तिहरू भने भेटिएको उनी बताउँछन् । साभार १२ खरिबाट