नेपालगन्ज भदाै ३० । नेपाल पत्रकार महासंघले असोज १२ गतेका लागि सार्वजनिक गरिएको पत्रकार महासंघको निर्वाचन प्रयोजनको लागि प्रकाशित मतदाता नामावलीमा विभेद गरिएको भन्दै नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा आईतबार तालाबन्दी गरिएको छ ।
प्रेस चौतारी नेपाल र प्रगतिशिल पत्रकार संघ बाँकेले संयुक्तरुपमा महासंघको कार्यालयमा तालाबन्दी गरेका हुन् । नयाँ सार्वजनिक गरिएको मतदाता नामावलीमा चरम लापरवाही र विभेद गरिएको भन्दै तालाबन्दी गरिएको प्रेस चाैतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा राेकाय बताए ।
एकै स्थानका शिक्षक, कर्मचारी र गैरसरकारी संस्थाकर्मीको एउटा पक्षधरको नाम समावेश भएर आउँदा आफ्ना पक्षका सबैको नाम काटिएको भन्दै चौतारी र प्रगतिशिल पत्रकारसंघले तालाबन्दी गर्नु परेको उनले बताए । राेकायले बाँकेको सदस्यता सूची नसच्याएसम्म निर्वाचन हुन नदिने पनि बताए ।
महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राजिनामा दिएपछि कार्यबाहक अध्शयक्ष रमेश बिष्टले नयाँ मिति तय गर्दै निर्वाचन समितिलाई सिफारिस गरे अनुसार हिजो मात्र महासंघको नयाँ मतदाता नामावली सार्वजनिक भएको थियो ।