मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा दुई युवामाथि खुकुरी प्रहार घटना: वडाध्यक्षसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन बाँके जिल्ला अदालतकाे आदेश
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज भदाै ३० ।  बाँकेमा दुई युवामाथि खुकुरी प्रहार गरेको घटनामा जिल्ला अदालत बाँकेले एक जना वडाध्यक्षसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

    आइतबार न्यायाधीश दीपक घिमिरेको एकल इजलासले थुनामा रहेका राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज वलीसहित थप चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका सूचना अधिकारी सुरेश मल्लले जानकारी दिए।

    उनका अनुसार राप्ती सोनारी– २ का ३२ वर्षीय सन्दिप ओली, ३२ वर्षीय रत्न भण्डारी, ३७ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर डाँगी र नेपालगञ्ज उपमहानगरपालिका–६ का ३१ वर्षीय बाला भनिने सन्तोष गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

    बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना चोकमा भदौ १ गते शनिबार बेलुकी करिब साढे ७ बजेतिर राप्ती सोनारी–२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ–७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्लमाथि एक समूहले आक्रमण गरेको थियो। भारतको लखनउमा दुई जना घाइतेको उपचार भइरहेको छ।

    शुक्रबारदेखि थुनछेक बहस सुरू भएको थियो। सरकारी वकिल पाँच जनासहित जाहेरीवालाका तर्फबाट दश जना वकिलले बहस सकेका थिए। त्यस्तै प्रतिवादीको तर्फबाट आठ जना वकिलले बहस गरेका थिए।

    जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार फरार रहेका लोकेन्द्र भनिने लोकबहादुर डाँगीलाई प्रहरीले केही दिन पहिले मात्रै पक्राउ गरेको थियो। वडाध्यक्ष ओलीसहित अन्य चार जनालाई घटना भएकै राति प्रहरीले नियन्त्रणमा लिएको थियो। तर खुकुरी तथा खुँडा प्रहारमा संलग्न भएको आरोप लागेका पाँच जनालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। उनीहरू फरार छन्। साभार सेताेपाटी अनलाइनबाट

  • ३० भाद्र २०८१, आईतवार २०:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित