नेपालगन्ज मंसिर १ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी एक महिला नेतृले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्री पदमा उम्मेदवारी प्रस्तुत गरेकी छन्। विद्यार्थी संगठन, स्वास्थ्य सेवा, शिक्षण, उच्च शिक्षा तथा पार्टीको संगठनात्मक जिम्मेवारीमा प्राप्त अनुभवलाई प्रदेश नेतृत्वमा उपयोग गर्ने उद्देश्यसहित पान्डेले उम्मेदवारी अघि सारेकाे बताएकि छन ।
राजनीतिक परिवारमा हुर्किएकी पान्डेले कक्षा ९ मा अध्ययन गर्दादेखि नै नेपाल विद्यार्थी संघमार्फत विद्यार्थी राजनीतिमा सक्रियता जनाएकी थिइन्। बालकुमारी नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघको जिम्मेवारी सम्हाल्दै विद्यार्थी नेतृत्व र संगठनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेकी उनले त्यसपछि व्यावसायिक तथा शैक्षिक यात्रालाई अगाडि बढाएकी हुन्।
उनले ब्याचलर इन नर्सिङ पूरा गरेपछि नर्सिङ सुपरभाइजरका रूपमा काम गर्नुका साथै शिक्षण क्षेत्रमा समेत अनुभव हासिल गरेकी छन्। उच्च शिक्षाका लागि बेलायत पुगेकी उनी करिब सात वर्ष त्यहाँ बसिन्। बेलायतको Edge Hill University बाट पब्लिक हेल्थ म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी उनले बेलायतको शैक्षिक तथा सामाजिक वातावरणलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गरिन्।
नेपाल फर्किएपछि उनले समाजशास्त्रमा पनि स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्। हाल उनी कानून विषयमा एलएलबी अध्ययनरत छिन्। स्वास्थ्य, समाजशास्त्र र कानुनको अध्ययनलाई सामाजिक सेवा तथा राजनीतिक नेतृत्वसँग जोड्ने पान्डे बताए ।
राजनीतिक रूपमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यको जिम्मेवारी निर्वाह गरिसकेकी अन्जना पान्डे नेपाली काँग्रेस लुम्बिनी प्रदेशबाे स्वास्थ्य विभाग प्रमुखका रूपमा समेत काम गरेकी छन्। उक्त जिम्मेवारीमा रहँदा प्रदेशस्तरमा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम तथा गतिविधिको योजना निर्माण, समन्वय र कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गरेको उनले बताएकी छन्।
पार्टीले दिएको जिम्मेवारीअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गर्न नेतृत्वदायी तथा समन्वयकारी भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ।
उनले आफ्नो राजनीतिक तथा व्यावसायिक यात्राले राजनीतिलाई जनताको सेवा, अधिकारको संरक्षण र सामाजिक रूपान्तरणको माध्यमका रूपमा बुझ्ने दृष्टिकोण विकास गरेको उल्लेख गरेकी छन्।
नेपाली कांग्रेसभित्र नयाँ पुस्ताको प्रतिनिधित्व, महिलाको अर्थपूर्ण सहभागिता, शैक्षिक तथा बौद्धिक युवाहरूको नेतृत्व विकास र पार्टीको समयानुकूल रूपान्तरण अहिलेको आवश्यकता भएको उनको धारणा छ।
पार्टीलाई विचार, विधि, विधान, प्रविधि र जनअपेक्षासँग जोड्दै थप समावेशी, गतिशील र उत्तरदायी बनाउनुपर्ने मान्यतासहित आफूले महिला महामन्त्री पदमा उम्मेदवारी दिएको उनले बताएकी छन्।
उनको उम्मेदवारीमा महिला नेतृत्व विकास, युवा पुस्ताको सहभागिता, संगठनात्मक सुदृढीकरण र जनमुखी राजनीतिक संस्कारलाई प्राथमिकतामा राखिएको छ।









