कात्तिक २ गते काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले तीनवटा अभियोगमा अनुसन्धान गरिरहेको छ । सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा उनीमाथि अनुसन्धान भइरहेको छ ।
कास्की जिल्ला अदालतले पछिल्लोपल्ट १३ दिन अनुसन्धानका लागि थप म्याद दिएपछि उनलाई भैरहवा नै लगेर बयान लिन लागिएको प्रहरीले जनाएको छ । यसअघि हिजो नै भैरहवा लैजाने तयारी गरिएको थियो ।
लामिछानेमाथि अनुसन्धान गर्न यसअघि जिल्ला अदालत रुपन्देहीले पनि अनुमति दिइसहेको छ । उनीमाथि सहकारी ठगी, संगठित अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीले पनि अनुमति दिएको हो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी तरिकाले लगेको पाइएको छ ।
सो सहकारीबाट एक करोड ९६ लाख लामिछानेकै नाममा रहेको बैंक खातामा गएको देखिएको छ । सोही विषयमा लामिछानेमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले रवि लामिछानेलाई कारबाही सिफारिस गरेको थियो ।
समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो । उक्त प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो ।
सूर्यदर्शन, साहारा, सुप्रिम, स्वर्णलक्ष्मीलगायत सहकारीबाट गोर्खा मिडियामा ६५ करोडभन्दा बढी रकम आएको र त्यसमा लामिछाने प्रबन्ध निर्देशक भएकाले जवाफदेही हुनुपर्ने माग संसदमै उठेको थियो ।
लामिछानेको बयान सकिएपछि कास्की नै पठाइने भएको छ ।
“बयान सकिन कति समय लाग्छ त्यसपछि हामीले कास्की नै पठाउछौँ,” रुपन्देहीका एक प्रहरी अधिकृतले भने ।
कम्तिमा पनि तीन दिन उनलाई रुपन्देही राख्ने तयारी छ । साभार : बाह्र खरि अनलाइनबाट