चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी)’ मेसिन सञ्चालनमा ल्याएको छ।
स्वीस कम्पनी ‘रोश’ले बनाएको यो मेसिनको प्रयोगले अब बिरामीको नमूना (टिस्यु) भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यता हटेको छ।
अस्पतालका प्रयोगशाला प्रमुख डा ग्रेता पाण्डेका अनुसार यो मेसिनले अब नेपालमै क्यान्सरको पहिचान, वर्गीकरण र लक्षित उपचार निर्धारण सजिलो भएको छ। उनले भने, ‘बिरामीलाई क्यान्सर भएको छ तर कुन प्रकारको हो भन्ने थाहा पाउन यो परीक्षण जरुरी हुन्छ। अब त्यो परीक्षण सजिलै यहीँ हुन्छ।’
यसअघि परीक्षण भारत पठाउँदा रिपोर्ट ढिलो आउने, उपचारमा ढिलाइ हुने, खर्च बढ्ने जस्ता समस्या थिए। अब भने छिटो, सही र वैज्ञानिक आधारमा रिपोर्ट पाउन सकिन्छ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार ‘रोश बेन्चमार्क अल्ट्रा’ पूर्ण स्वचालित प्रणाली हो, जसले टिस्युमा रहेका प्रोटिन मार्कर पत्ता लगाउँछ। उनले भने, ‘यसले लक्षित थेरापी र सम्पूर्ण उपचार योजनामा वैज्ञानिकता र विश्वसनीयता थप्छ।’ यो सेवा सुरु भएपछि अब नेपालमै ‘टप टेन कमन क्यान्सर’ जस्तै स्तन, पाठेघर, फोक्सो, ओभरी, पेट र आन्द्राको क्यान्सरको सही परीक्षण सम्भव भएको छ।
उनका अनुसार यो मेसिन क्यान्सरको प्रकार पत्ता लगाउन प्रयोग गरिन्छ। खासगरी टिस्यु (मासुको नमूना) मा कुन प्रोटिन छन् भन्ने कुरा पत्ता लगाउन यसले सहयोग गर्छ। यो मेसिनले टिस्यु स्लाइडमा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी) परीक्षण गर्छ, जसबाट ट्युमरमा कुन प्रोटिन अभिव्यक्त भएको छ भन्ने थाहा हुन्छ र यसले छिटो, सही र भरपर्दो नतिजा दिन्छ।
क्यान्सरको पुष्टि भएर मात्र पुग्दैन, कस्तो क्यान्सर हो भन्ने थाहा पाएपछि मात्र कुन थेरापी दिने भनेर निर्णय गर्न सकिन्छ, जस्तै: केमोथेरापी दिने कि रेडिएसन, कुन औषधि प्रयोग गर्ने, रोगको आक्रमकता कति छ भन्ने जानकारी हुन्छ। अस्पतालले आफैँले मेसिन किनेर सञ्चालनमा ल्याएको डा पौडेलले बताए।
अस्पतालका उपनिर्देशक डा उमेश नेपालले यो प्रविधिले बिरामीलाई छिटो उपचार सुरु गर्न सहयोग गर्ने र बिरामी र आफन्तको मानसिक र आर्थिक बोझ पनि कम हुने बताए। उनले भने, ‘यो प्रविधिको सुरुवातले अस्पताललाई प्रविधिमैत्री राष्ट्रिय क्यान्सर उपचार केन्द्रका रूपमा बलियो बनाउँछ।’
अस्पतालले आगामी दिनमा यस्ता आधुनिक प्रविधि थप्दै क्यान्सर उपचार र अनुसन्धान सेवा अझ प्रभावकारी बनाउने योजना बनाएको निर्देशक डा पौडेलले बताए।