नेपालगन्ज बैशाख ८ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा पत्रकार/फोटोग्राफर जयनारायण शाहले खिचेका फोटोहरुको `विटनेश अफ टाइम´ शीर्षकमा एकल फोटो प्रदर्शनी आयोजना हुने भएको छ।
आगामी जेठ ११ र १२ गते नेपालगन्जमा हुने उक्त प्रदर्शनीमा समय, समाज, प्रकृति र जनजीवनका महत्वपूर्ण क्षणहरूलाई फोटोको माध्यमबाट प्रस्तुत गरिनेछ।
`विटनेश अफ टाइम´ प्रदर्शनीले समयको साक्षी वनेका दृश्य,
पात्र, नेपाली समाज , भेषभूषा , संस्कृति, दैनिक जीवन र प्रकृतिलाई तस्वीर मार्फत उजागर गर्ने उद्देश्य लिएको छ। प्रदर्शनीमा राखिएका तस्वीरहरूले दर्शकलाई मानव सभ्यता र प्रकृतिका विविध आयाम अनुभव गराउने विश्वाश छ।
`कहिलेकाहीँ क्षणहरू केवल स्मृति मात्र हुँदैनन्, तिनीहरू इतिहास बन्छन् ´ पत्रकार।फोटोग्राफर जयनारायण शाह भन्छन् – `तिनै क्षणहरूलाई जिवन्त राख्ने प्रयास यो फोटो प्रदर्शनी हो।´
गएको डेढ दशकमा मूलुकले विभिन्न घटनाक्रम बेहोर्नु पर्यो । राजनीतिक परिदृश्यहरु फेरिए। यस क्रममा धेरै आन्दोलन र झडपहरु भए। भुकम्प, नाकाबन्दी , कोभिड महामारी र लकडाउनले आम जनजीवन अत्यन्त कष्टप्रद रह्यो। यो सवै कालखण्डका तस्वीरहरु फोटोग्राफर शाहले खिचेका छन्।
`यात्राका दौरान जहाँ -जहाँ पुगें त्यो ठाउँको जनजीवन, रहनसहन, भेषभूषा , बस्ती , प्रकृति ,फूलहरु ,सुन्दर दृश्यहरु , पदयात्रामा भेटिएका मानिसहरुका तस्वीरहरु मैले क्यामेरामा कैद गरें ´ – पत्रकार शाह भन्छन् -` प्रदर्शनीवाट अब यी तस्वीरहरु साझा गर्दैछुँ।´
यस प्रदर्शनीमार्फत नयाँ पुस्तामा फोटोग्राफीप्रति रुचि अभिवृद्धि गर्नुका साथै समाजको जिवन्त तस्वीर प्रस्तुत गर्ने लक्ष्य राखिएको आयोजक अन्तरालले जनाएको छ।
समय, समाज र स्मृतिको कथा बोकेका यी तस्वीरहरू अवलोकन गर्न सम्पूर्ण कलाप्रेमी, विद्यार्थी सञ्चारकर्मी तथा आम सर्वसाधारणलाई आयोजक अन्तरालले आमन्त्रण गरेको छ।









