नेपालगञ्ज, बाँके — भारत–नेपाल सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले नेपालगञ्जमा एक विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा शास्त्रीय भारतीय नृत्य ‘कत्थक’ को मनमोहक प्रस्तुति गरिएको थियो।
भारतीय दूतावासको सौजन्य तथा भारतीय सांस्कृतिक सम्बन्ध परिषद (ICCR), भारत सरकारको समन्वयमा काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र को प्रस्तुति रहेको कार्यक्रमलाई स्थानीय आयोजक नेपाल भारत मैत्री संघ, बाँकेले आयोजना गरेको थियो। कार्यक्रम नेपालगञ्जस्थित होटेल सिटी प्यालेस मा सम्पन्न भएको हो।
कार्यक्रममा एक सयभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो। विभिन्न सामाजिक व्यक्तित्व, जनप्रतिनिधि तथा सांस्कृतिक क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भारतीय दूतावासको सांस्कृतिक शाखाबाट कार्यक्रम अधिकृत वसीम मल्लिक र अमृता अर्यालको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमका आयोजक प्रदीप कुमार गुप्ता ले नेपाल–भारतबीचको सांस्कृतिक आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर आयोजना गरिने जानकारी दिनुभयो।
कत्थक नृत्य प्रस्तुति मार्फत दर्शकहरूले भारतीय शास्त्रीय कलाको उत्कृष्ट झलक अवलोकन गरेका थिए। कार्यक्रमले स्थानीय स्तरमा सांस्कृतिक जागरण र अन्तर्राष्ट्रिय मैत्री सम्बन्ध प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याएको आयोजकले जनाएको छ।









