नेपालगन्ज असार ९ । बैजनाथ गाउँपालिका नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । गाउँपालिका कार्यालयमा मंगलबार आयोजित २० औं गाउँसभामा अध्यक्ष प्रकाशबहादुर शाहीले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रम सभासदहरुले सर्वसम्मत रुपमा पारित गरेका हुन् । नीति तथा कार्यक्रमले ‘समृद्ध बैजनाथ, मुहारमा मुस्कान’ सहित सुखी र खुसी नारिक निर्माण गर्ने विश्वासिलो आधार प्रदान गर्ने विश्वास लिइएको छ ।
गाउँपालिकाको नीति तथा कार्यक्रममा भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, कृषी सिंचाई तथा भू-उपयोग, पशुपंक्षी तथा मत्स्यपालन, किसानसँग पालिका प्रमुख कार्यक्रम, सहकारी, घरेलु तथा साना उद्योग वाणिज्य व्यापार तथा रोजगारी, युवा तथा खेलकुद, पर्यटन प्रवद्र्धन धर्म सँस्कृति तथा कला, वन वातावरण तथा विपद ब्यवस्थापन, सुशासन तथा सेवा प्रवाह, लैंगिक समानता सामाजिक समावेशीकरण तथा नागरिक सशक्तीकरण लगायत विषयलाई उच्च प्राथमिकताका साथ समेटिएको छ । गाउँपालिकाले गरिब तथा विपन्न सबै जात जाति र समुदायका नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।
सामुदायिक बिद्यालयहरुमा गुणस्तरिय शिक्षा तथा सिकाई सुनिश्चित गर्न आवश्यकताका आधारमा पुस्तकालय, सुरक्षित खेल मैदान, खानेपानी, शौचालय, घेरबार, मर्मत कार्यक्रमको ब्यवस्था गर्ने, प्राविधिक शिक्षा तथा बहुमुखी क्याम्पस सञ्चालनका लागि आवश्यक पहल गर्ने, कृषी ब्यवसायमा युवाहरुलाई आर्कषित गर्दै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने, बैजनाथ गाउँपालिका गोल्डकप प्रतियोगिता सञ्चालन गर्ने, युवा तथा खेलकुद रणनीति तयार गरिने, थारु सँस्कृति संरक्षण तथा संग्रहालयको ब्यवस्थापन गर्ने, शिक्षा क्षेत्रमा पुराना बिद्यालय भवनहरुलाई क्रमशः सुविधा सम्पन्न रुपमा निर्माण तथा स्तरोन्नती गरिने लगायत नीति लिइएको छ ।
गाउँसभामा उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्याय, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । २० औं गाउँसभाको दोस्रो बैठक बुधबार (भोली) दिउँसो ३ बजे पुनः बस्नेछ । उक्त सभामा उपाध्यक्ष निर्मला रोकायले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने भएकी छन् ।








