नेपालगन्ज । निबन्धकार तथा नियात्राकार सागर गैरेद्वारा लिखित नियात्रा संग्रह ‘एउटा अल्बाट्रसः प्रशान्त महासागरदेखि कालासागरसम्म’को लेखकको गृहनगरमा पनि विमोचन कार्यक्रम गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा लेखक गेरैको उक्त नियात्रा संग्रहको गृह विमोचन गरिएको हो ।
उक्त कृतिको विमोचन प्राज्ञ तथा साहित्यकार महानन्द ढकाल, प्रतिष्ठानका अध्यक्ष तथा लेखक पुष्कर रिजाल, लेखक भरत रानाभाट, कवि विपी अस्तु, कृतिकार गैरे तथ गैरेकी धर्मपत्नी सारदा गैरेले गरेका थिए। विमोचनपश्चात कृतिका सम्बन्धमा लेखकसँग संवाद पनि गरिएको थियो।
बाँकेको कोहलपुरलाई कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेका गैरेको पछिल्लो नियात्रा संग्रहको यसअघि २०८३ जेठ ३० गते सर्वनाम थिएटर कालिकास्थानमा लोकार्पण भइसकेको छ । माया पब्लिकेशन प्रालिले प्रकाशन गरेको नियात्रा संग्रह लोकार्पण भएको एक महिनापछि कोहलपुरमा गृह विमोचन सम्पन्न भएको हो । वागेश्वरी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको विमोचन कार्यक्रममा नियात्राकार भरत रानाभाटले उक्त कृतिको समीक्षा गरेका थिए ।
विश्व साहित्यमा प्रमुख विधाको रुपमा रहेको नियात्रा विधालाई विधागत गहिराइमा गएर विभिन्न सन्दर्भ र पृष्ठभूमिसहित लेखिएको एउटा अल्बाट्रस निकै पठनीय भएको बताए । उनका अनुसार पाँच वटा देश घुमेर लेखिएको पुस्तकले शब्दका माध्यमबाट पाठकहरुले सो क्षेत्रमा यात्रा गरेको अनुभूति दिलाउँछ । नियात्रा संग्रह मलेसिया, भियनाम, गोवा (भारत), फिलिपिन्स र जर्जिया यात्राको संस्मरण मात्रै नभएर त्यहाँका भाषा, संस्कृति, राजनीतिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक पक्ष समेटेर लेखिएकोले पुस्तक झन् पठनयोग्य रहेको उनको भनाइ थियो ।
निबन्धकार तथा नियात्राकार गैरे र कवि तथा सञ्चारकर्मी वीरेन्द्र जैशी (वीपी अस्तु)का बीच ॅनियात्रा, साहित्य र अनेक अनुभूतिहरु’ विषयमा संवाद कार्यक्रम भएको थियो । जहाँ लेखक गैरेले पुस्तकमा आफूले भ्रमण गरेका देश र त्यहाँका यात्राका क्रममा भोगेका भोगाइहरु सुनाएका थिए । गैरेले ती देशहरुमा हिँडेर, महशुस गरेर, छोएर, हेरेर र अनुभूत गरेर नियात्रा लेखेको बताए । उनी भन्छन्, ॅमलाई डुलेर खान पुग्दैन । आफू बाँचिरहेको समयको संसार देख्ने रहर छ । पृथ्वीका कुनाकन्दरामा के भइरहेको छ, जिज्ञासा छ ।’ आफूलाई घुम्न मन पर्ने र आकस्मिक रुपमा झोला बोकेर कहिले समुद्रमा, कहिले अग्ला पहाडमा र कहिले ग्रामीण इलाका पुग्न मन लाग्ने र सकभर धेरैभन्दा धेरै ठाउँ पुग्ने खोज्ने गैरेको भनाइ छ । कृति संवादको अन्त्यमा गैरेले चर्को गर्मी र तातो कोठामा अनेक व्यस्ततालाई थाती राखेर पुस्तकको प्रमोसन र लेखकको हौसला बढाउन कार्यक्रममा सहभागी भएका सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेका अध्यक्ष डा.पुस्कर रिजालले प्रतिष्ठानका सल्लाहकार गैरेको कृतिको गृह विमोचन भव्य रुपमा सम्पन्न भएको बताए । उनका अनुसार कोहलपुरमा व्यवसायसँगै साहित्य सिर्जनामा सक्रिय गैरेको पछिल्लो कृति विगतका भन्दा उत्कृष्ट लेखनशैलीमा बजारमा आएको छ ।
पाल्पामा जन्मिएर बर्दियामा हुर्के बढेका र बाँकेको कोहलपुरमा बसोबास गर्दै आएका गैरेका यसअघि तीन कृति प्रकाशित छन् । निबन्ध सङ्ग्रह ‘लकडाउन’ उनको पहिलो कृति हो । गैरेका नियात्रा संग्रह ‘बलइगाउँदेखि बाकुसम्म’ र ‘मोहर’ उपन्यास प्रकाशित छन् । गृह विमोचन कार्यक्रममा बाँकेका साहित्यप्रेमीहरुको सहभागिता रहेको थियो ।









