नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१२ मुक्तिपुरमा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले शुक्रबार एक कार्यक्रमबीच जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्रको उद्घाटन गदै मेयर विष्टले जेष्ठ नागरिक देश र समाजका महत्वपूर्ण सम्पत्ति भएको बताए ।
मेयर बिष्टले जेष्ठ नागरिकको ज्ञान, अनुभव र योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताले उहाँहरूबाट सिक्नुपर्ने बताए ।
कार्यक्रममा जेष्ठ नागरिक क्लबका अध्यक्ष अजितकुमार शर्माले साथीभाइसँग भेटघाट, भलाकुसारी तथा मनोरञ्जनका लागि सहज वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको बताउदै जेष्ठ नागरिकका लागि नियमित रूपमा भेटघाट गर्ने, अनुभव आदानप्रदान गर्ने र फुर्सदको समय सिर्जनात्मक रूपमा बिताउने स्थानको अभाव देखिएपछि मिलन केन्द्र स्थापना गरिएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठले विकास निर्माणदेखि सामाजिक तथा पारिवारिक क्षेत्रमा जेष्ठ नागरिकको भूमिका महत्वपूर्ण रहेको बताइन् । जेष्ठ नागरिकको अनुभव र ज्ञानलाई समाज निर्माणमा उपयोग गर्नुपर्नेमा उनले जोड दिइन् । ‘जेष्ठ नागरिकको भूमिका अतुलनीय छ । उहाँहरूको सम्मानले मात्र समाज र परिवार सुखी बन्न सक्छ,’ श्रेष्ठले भनिन् ।
नेपालगन्ज उपमहानगरपालिका–१२ का वडा अध्यक्ष तरुणकुमार बज्राचार्यले वडा क्षेत्रका जेष्ठ नागरिकका लागि मिलन केन्द्र विश्राम तथा भेटघाट गर्ने ‘बिसौनी’का रूपमा विकास हुने बताए । केन्द्रलाई नियमित रूपमा सञ्चालन गर्दै जेष्ठ नागरिकको आवश्यकता र रुचि अनुसार विभिन्न गतिविधि सञ्चालन गर्ने योजना रहेको उनले बताए । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले जेष्ठ नागरिकको सम्मान र संरक्षण परिवार तथा समाजको साझा दायित्व भएको बताए । जेष्ठ नागरिकले जीवनभर समाज र राष्ट्रका लागि गरेको योगदानको कदर गर्नुपर्ने उनको भनाइ थियो ।
मिलन केन्द्र सञ्चालनको अवसरमा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो । स्वास्थ्य शिविरमा जेष्ठ नागरिकको सुगर, प्रेसर, थाइराइड लगायत स्वास्थ्य परीक्षण गरिएको क्लबका अध्यक्ष शर्माले जानकारी दिए ।
केन्द्रमा जेष्ठ नागरिकले नियमित भेटघाट, भलाकुसारी तथा मनोरञ्जन गर्न पाउनेछन् । आगामी दिनमा स्वास्थ्य सचेतना, सामाजिक अन्तरक्रिया, अनुभव आदानप्रदान तथा अन्य सिर्जनात्मक गतिविधिसमेत सञ्चालन गर्ने योजना रहेको क्लबले जनाएको छ ।









