मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसमा एकताका लागि २४ नेताको अपिल पार्टीको सम्पूर्ण एकताका लागि निर्णायक वार्ता गर्न आग्रह
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन कांग्रेसका नेताहरूले अपिल गरेका छन्।
    नेताहरूले जारी गरेको संयुक्त अपिलमा देश गम्भीर संकट र चुनौतीपूर्ण अवस्थामा रहेको तथा राजनीतिक अवस्था तरल बन्दै गएको उल्लेख गर्दै यस्तो परिस्थितिमा पार्टीभित्रको विवाद र विभाजनले राष्ट्रिय राजनीतिलाई समेत सही दिशा दिन कठिन हुने बताएका छन्।
    अपिलमा राष्ट्रिय एकता, लोकतन्त्र र संविधानको संरक्षणका लागि प्रमुख राजनीतिक शक्तिहरू थप जिम्मेवार र एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ। कांग्रेसभित्रको विवादलाई थप चर्काउने वा पार्टीलाई अझ विभाजित बनाउनेतर्फ अघि बढ्नु राष्ट्र र लोकतन्त्रको हितमा नहुने उनीहरूको भनाइ छ।
    नेताहरूले नेपाली कांग्रेसले विगतका संकटमा देशलाई निकास दिँदै आएको स्मरण गर्दै वर्तमान संवेदनशील अवस्थामा पनि राष्ट्रियता, लोकतन्त्र र संविधानलाई जोड्दै समृद्ध तथा सबल राष्ट्र निर्माणमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
    विशेष महाधिवेशनबाट प्राप्त तीतामिठा अनुभवबाट पाठ सिक्दै विगतका विवाद र मतभेद बोकेर बस्न नहुने अपिलमा उल्लेख छ। पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने संकल्प गर्नुपर्ने भन्दै कांग्रेसको जिम्मेवार नेतृत्व एक ठाउँमा बसेर गहन छलफल गरी साझा निष्कर्षमा पुग्नुपर्ने माग गरिएको छ।
    अपिलमा व्यक्तिगत स्वार्थभन्दा पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर तत्काल निकास खोज्न आग्रह गरिएको छ। साथै आगामी १५औँ महाधिवेशनमा कांग्रेसका सबै सदस्य सहभागी हुनसक्ने वातावरण निर्माण गर्दै पार्टीको सबल नेतृत्व चयन र स्पष्ट दिशाका लागि संवाद, सहमति र सहकार्य आवश्यक रहेको नेताहरूले बताएका छन्।
    वर्तमान पार्टी सभापतिका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै पक्ष–विपक्षबाट जारी गरिएका पछिल्ला महाधिवेशनसम्बन्धी कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्नसमेत अपिल गरिएको छ।
    देश संकटमा रहेको संवेदनशील घडीमा कांग्रेसभित्रका सबै पक्षबीच संवाद, सहमति र सहकार्यका माध्यमबाट विवाद समाधान गरी पार्टीलाई एक ढिक्का बनाउन र राष्ट्रिय चुनौतीहरूको सामना गर्नसक्ने सबल, एकताबद्ध र शक्तिशाली नेपाली कांग्रेस निर्माणमा जुट्न नेताहरूले आग्रह गरेका छन्।

     

  • २६ भाद्र २०८३, शुक्रबार १५:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित