मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

योजना कार्यान्वयनमा गति दिन भौतिक पूर्वाधार मन्त्री खत्रीको निर्देशन
  • मार्गरेखा संवाददाता

  • दाङ असाेज ७ । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले चालू आर्थिक वर्षमा मन्त्रालयअन्तर्गत सञ्चालित योजनाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउँदै समयमै गुणस्तरीय काम सम्पन्न गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

    बुधबार मन्त्रालयमा आयोजित समीक्षा कार्यक्रममा मन्त्रालय मातहतका कार्यालय प्रमुखहरूसँग चालू आर्थिक वर्षका योजना कार्यान्वयनको अवस्थाबारे जानकारी लिँदै मन्त्री खत्रीले विकास निर्माणका काममा ढिलासुस्ती हुन नदिन निर्देशन दिनुभएको हो ।

    कार्यक्रममा मन्त्री खत्रीले योजनाहरूको कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौती पहिचान गरी समाधानका लागि आवश्यक पहल गर्न कार्यालय प्रमुखहरूलाई आग्रह गर्नुभयो । उहाँले योजना कार्यान्वयनमा कुनै कठिनाइ देखिएमा मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    मन्त्री खत्रीले विकास निर्माणका काममा गुणस्तर कायम गर्नुका साथै निर्धारित समयभित्रै योजना सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भइरहेका भौतिक पूर्वाधारसम्बन्धी योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि कार्यालय प्रमुखहरू जिम्मेवार भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

    समीक्षा कार्यक्रममा मन्त्रालयका सचिव राम पराजुलीसहित कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रममा चालू आर्थिक वर्षमा हालसम्म भएका प्रगतिको समीक्षा गर्नुका साथै बहुवर्षीय तथा सम्पूरक योजनाहरूको कार्यान्वयन अवस्थाबारे जानकारी लिइएको थियो ।

    त्यसैगरी योजना कार्यान्वयनका क्रममा देखिएका चुनौती, समस्या समाधानका उपाय तथा कार्यालयहरूले हासिल गरेका अनुभवबारे समेत छलफल भएको थियो । सहभागी कार्यालय प्रमुखहरूले आ–आफ्नो कार्यालयअन्तर्गत सञ्चालित योजनाहरूको प्रगति, कार्यान्वयनमा देखिएका समस्या तथा आगामी कार्यदिशाबारे जानकारी गराएका थिए ।

    मन्त्रालयले योजना कार्यान्वयनलाई नियमित अनुगमन तथा समन्वयमार्फत थप प्रभावकारी बनाउने जनाएको छ ।

  • ७ आश्विन २०८३, बुधबार १३:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित