नेपालगन्ज असाेज ८ । नेपाली कांग्रेस राप्ती सोनारी बाँकेकाे सभापतिमा भिमबहादुर रानाक्षेत्री पुनः निर्वाचित भएका छन् । बुधबार सम्पन्न भएको १५ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचन प्रक्रियाबाट कांग्रेस संस्थापन इतर पक्षका रानाक्षेत्रीको पुरै प्यानल निर्वाचित भएको हो । रानाक्षेत्री यसअघि १४ औं महाधिवेशनमा पनि राप्ती सोनारी गाउँपालिका सभापति पदमा निर्वाचित भएका थिए ।
निर्वाचनमा निकटतम प्रतिस्पर्धी बालकिशुन थारुलाई ३८ मतको अन्तरले पराजित गरेर रानाक्षेत्री निर्वाचित भएका छन् । नवनिर्वाचित सभापति रानाक्षेत्रीले १ सय ३७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी थारुले ९९ मत प्राप्त गरे । निर्वाचन प्रक्रियाबाट उपाध्यक्ष खुल्लामा जयबहादुर डाँगीलाई पराजित गरेर कान्छा थारु निर्वाचित भए ।
थारुले १ सय ६२ र डाँगीले ६६ मत प्राप्त गरेका छन् । सहसचिव पदमा १ सय ५८ मत प्राप्त गरेर होमबहादुर रावत निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी प्रेमबहादुर खत्रीले ५९ मत ल्याए । यसैगरी कार्यसमिति सदस्य (महिला युवा)मा निरा थारुले १ सय ४९ मत ल्याएर निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी जिवनकला खनालले ५४ मत प्राप्त गरिन् ।
गाउँपालिका उपाध्यक्ष(महिला) मा सुशिला थारु, सचिवमा चिरञ्जिवी ओली, सदस्य(दलित)मा धनबहादुर बिक, सदस्य (युवा)मा रमेश खड्का, सदस्य (दलित महिला) मा मायाकुमारी सुनार, सदस्य (युवा)मा पदमबहादुर पुन निर्वाचित भएको बताइएको छ । अधिवेशनमा जिल्ला सदस्य (खुल्ला पालिका) बाट अमरबहादुर बुढाथोकी र जिल्ला सदस्य(महिला पालिका)मा सावित्री ओली निर्विरोध निर्वाचित भएका छन् ।









