नेपाली काँग्रेस (शेरबहादुर देउवा पक्ष) को १५औँ नियमित महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा यज्ञ महरा चयन भएका छन्। अधिवेशनबाट क्षेत्रीय सभापतिसहित विभिन्न तहमा नेतृत्व चयन गरिएको हो । कोहलपुर नगर, प्रदेशसभा क्षेत्र र राप्ती सोनारी गाउँपालिकामा भने सभापतिहरू सर्वसम्मत रूपमा चयन भएका हुन ।
अधिवेशनबाट कोहलपुर नगर सभापतिमा सनत रेग्मी, प्रदेशसभा क्षेत्र नं. १ (ख) को सभापतिमा रतन बुढा, प्रदेशसभा क्षेत्र नं. १ (क) को सभापतिमा लक्ष्मण थारु र राप्ती सोनारी गाउँपालिका सभापतिमा हर्षवर्धन थारु सर्वसम्मत चयन भएको जानकारी दिइएको छ।
क्षेत्रीय सभापतिमा महरा सगै अन्य चार तहका सभापतिहरू सहमतिका आधारमा चयन भएका हुन्। यसले अधिवेशनमा सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास गरिएको समेत देखाएको छ।
अन्य पदाधिकारी, क्षेत्रीय तथा प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिको टुङ्गो भने लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचन वा आपसी सहमतिबाट टुंगो लगाइने जिल्ला संयोजक कृष्ण कार्कीले जानकारी दिए। बाँकी पदमा सहमति जुटाउने प्रयाससँगै आवश्यकताअनुसार निर्वाचन प्रक्रियासमेत अघि बढाइने बताइएको छ।
अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेस (देउवा पक्ष) का नेता तथा लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले आफूहरू नियमित महाधिवेशनको पक्षमा रहेको बताउँदै देशभर पार्टीका विभिन्न तहमा अधिवेशन सञ्चालन भइरहेको उल्लेख गरे। उनले पार्टीको आधिकारिक नेतृत्व शेरबहादुर देउवाले गरिरहेको दाबी गर्दै नियमित महाधिवेशनले केन्द्रीय नेतृत्वसमेत टुङ्गो लगाउने बताए।









