काठमाडौँ, १५ कात्तिकः राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागका अनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएको हो । सिक्टा आयोजनाले रु ५४ करोड तीन लाख लागत अनुमानका चार वटा बोलपत्र आह्वान गरिसकेको छ । पुस मसान्तसम्म रु दुई अर्ब ४८ करोड ३० लाख बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने र ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य आयोजनाले राखेको छ । बबई आयोजनाले पनि पुस मसान्तसम्म ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य लिएको विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले बताउनुभयो ।









