मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
  • मार्गरेखा संवाददाता

  • झापा, १३ मंसिर। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताउनुभएको छ।

    पार्टीको असन्तुष्ट पक्षप्रति लक्षित गर्दै शर्माले भन्नुभयो, “उहाँहरूलाई धेरै आग्रह गरियो, तर मान्नुभएन। अब नेता फकाउँदै हिँडिदैन, गाउँमा गएर जनता फकाउने हो।”

    “अब नेता फकाउने कार्यभन्दा जनतालाई बुझाउने कार्यमा अघि बढ्नुपर्छ, गाउँ–गाउँ र घर–घरमा कांग्रेस पुग्नुपर्छ,” उहाँले भन्नुभयो।

    उहाँले पुरानो प्रतिनिधिसभा नब्युँतिएझैँ कांग्रेसको पुरानो कार्यसमिति पनि नब्युँतिने भएकाले भ्रम र अलमलमा नपर्न सबैलाइ आग्रह गर्नुभयो।

    झापा क्षेत्र नम्बर ३ अन्तर्गत कचनकवल गाउँपालिका वडा नं. ७ स्थित सहिद स्व. चन्द्रमणि भट्टराईको सालिकमा माल्यार्पणपछि आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले जनताको मन जितेर मत जित्ने अभियानमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभयो।

    वरिष्ठ उपसभापति शर्माले जनताको मन जितेर आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने गरी सामाजिक सेवामूलक काम, विकास निर्माण र जनताका दैनिकीमा परेका अप्ठ्यारामा सहयोगी बन्नुपर्नेमा जोड दिनुभयो।

    निर्वाचनमा जो राम्रो उम्मेदवार छ, उसैलाई बोकेर जानुपर्ने बताउँदै शर्माले भन्नुभयो, “आफूभन्दा कोही राम्रो र जित्ने उम्मेदवार छ भने उसैलाई बोकेर हिँडौँ र चुनाव जिताऔँ।”

    पार्टीको १५औँ महाधिवेशनपछि पहिलोपटक गृहजिल्ला झापा आइपुग्नुभएका शर्माले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा पुगेर कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय गर्नु भएको छ ।

    महाधिवेशनबाट गगन थापाको सभापतित्वमा नयाँ नेतृत्व आएसँगै नेपाली कांग्रेस बदलिएको दाबी गर्दै उहाँले राजनीतिमा मन र मत जित्न त्याग र फराकिलो मनले नै पार्टीलाई जिताउने उल्लेख गर्नुभयो।

    देशलाई समुन्नतिमा लैजाने र जनतालाई निराशाबाट मुक्त गर्ने काम कांग्रेसले नै गर्ने बताउँदै उहाँले पार्टी अब बोलीमा मात्र नभई व्यवहारमा समेत सुधारिएर तल्लो तहमा फर्किएको जानकारी दिनुभयो।

    कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले १५औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्व आएसँगै कांग्रेसमा नयाँ जोस र आशा पैदा भएको दाबी गर्नुभयो।

  • १३ मंसिर २०८३, आईतवार १८:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित