मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुदूरपश्चिम सरकारको एक वर्ष : ३५५ किलोमिटर सडक निर्माण, १ हजार ६२८ हेक्टरमा सिँचाइ विस्तार
  • मार्गरेखा संवाददाता

  • धनगढी साउन २०। सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ । नेकपा एमालेको समर्थनमा २० साउन २०८१ मा मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाहले मंगलबार एक वर्षको कार्यकाल पूरा गरेका हुन् ।

    प्रदेश सरकारले एक वर्ष पूरा भएको अवसरमा कार्यप्रगती समेत सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाहलमा आयोजना गरिएको कार्यक्रमकाबीच मुख्यमन्त्री शाहले एक वर्षमा भएका महत्त्वपूर्ण उपलब्धिको विवरण भन्दै ३६ बुँदामा सार्वजनिक गरेका छन् ।

    प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले अनेक चुनौती र कठिनाइको सामाना गर्दै आर्थिक वर्ष २०८१/८२ मा खर्च गर्ने क्षमता वृद्धि गरेर ७०.२२ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सक्षम भएको भन्दै सरकारको अहिलेसम्मकै उच्च उपलब्धि भनेका छन् ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोगले गरेको कार्य सम्पादन मूल्यांकनमा सबै प्रदेश मध्ये ५१.६ प्रतिशत अंक प्राप्त गर्दै सुदूरपश्चिम पहिलो बन्नु, प्रदेशलाई साक्षर घोषण गरिनु, एसियाली विकास बैँकले लगानी तथा विकास सम्मेलन सफल बनाउन लागत साझेदारी र अन्य सहयोग गर्न प्रतिबद्धता जनाएको लगायतलाई समेत महत्त्वपूर्ण उपलब्धिका रूपमा राखिएको छ ।

    एक वर्षको अवधिमा प्रदेश सरकारले तीन सय ५५ किलोमिटर सडक निर्माण सम्पन्न गरिएको मुख्यमन्त्री शाहले बताए । उनकाअनुसार १०६ किलोमिटर सडक कालोपत्र, १०३ किलोमिटर ग्राभेल र १४६ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न भएको छ ।

    सतही, भूमिगत र नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणालीबाट एक हजार ६२८ हेक्टर जमिनमा सिँचाइ सुविधा थप गरिएको र मर्मत कार्यबाट १३ हजार ९४७ हेक्टर जमिनमा सिँचाइ सुविधालाई पुनर्स्थापना गरिएको उनले बताए । बाढीबाट बस्ती तथा खेतीयोग्य भूमि जोगाउन २७ किलोमिटर तटबन्ध निर्माण, खानेपानीका ८४१ इन्टेक जडान, ५१६ पोखरी निर्माण, दुई हजार १३३ किलोमिटर पाइपलाइन जडान गरेर ११ हजार ९३९ निजी धारा जडान गर्दै एक लाख ३ हजार ५२४ जनसंख्यालाई खानेपानी सुविधा विस्तार गरिएको प्रगती विवरणमा उल्लेख गरिएको छ ।

    अछामको बयलपाटा अस्पताल, कैलालीको लम्कीचुहा र डडेल्धुराको जोगबुढा अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नती गर्न प्रक्रिया अघि बढाइएको, कृषि अनुदानमार्फत १५१ जना किसानलाई ९७ लाख ४१ हजार रकम उपलब्ध गराएको, उक्त कार्यक्रमबाट व्यावसायिक कृषकबाट २३ करोड ४७ लाख ३२ हजार थप लगानी भएको, कृषि मन्त्रालयबाट एक हजार ५४७ साना सिँचाइ योजनामार्फत ३७८ हेक्टरमा थप सिँचाइ सुविधा विस्तार गरिएको छ ।

    १६ लाख २९ हजार २२८ बाख्रा, गाई, भैंसीमा कृत्रिम गर्भाधान गरिएको र एक लाख ३२ हजार पशुपन्छीलाई उपचार सेवा, दुई लाख ६७ हजार पशुचौपायालाई खोप सेवा प्रदान गरिएको छ । प्रदेशभित्र स्थापना हुने २८ वटा उद्योगको प्रारम्भिक वातावरणीय मूल्यांकन स्वीकृत गरिएको, १४ लाख ४७ हजार विरुवा उत्पादन गरि १२२ हेक्टरमा वृक्षारोपण गरिएको कुरालाई पनि प्रगती विवरणमा राखिएको छ ।

    नि:शुल्क रक्तसेवा अन्तरगत एक हजार १८७ जनालाई दुई हजार १४८ पिन्ट नि:शुल्क रगत उपलब्ध गरेको, आर्थिक रूपले विपन्न ६४५ जनालाई उपचार सहायता गरिएको, प्रदेशभर ३१ स्थानमा धार्मिक मठमन्दिर निर्माण, ९ वटा पर्यटकीय पार्क निर्माण गरिएको कुरालाई समेत महत्त्वपूर्ण उपलब्धिमा राखिएको छ ।

  • २० श्रावण २०८२, मंगलवार १५:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित