कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुन भन्छन्- प्रदेशका २६ क्षेत्रमध्ये १६ वटामा हामी निकै अगाडि छौँ । मुख्य प्रतिस्पर्धा एमालेसँगै हुन्छ, नयाँ पार्टी सामाजिक सञ्जालमै मात्र सीमित छन्´
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन अहिले बाँके क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । कांग्रेसका पूर्वसभापति स्व. सुशील कोइरालाका निकट मानिने पुन पूर्वराज्यमन्त्री समेत हुन् । मुख्यमन्त्री बन्ने चाहनाका साथ तत्कालीन माओवादीसहितको गठबन्धनबाट २०७९ को निर्वाचनमा रोल्पा ‘ख’ बाट लुम्बिनी प्रदेशसभा सदस्यका लागि चुनाव लडे पनि उनी पराजित भएका थिए ।
पुन नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा उभिने दुई प्रदेश सभापतिमध्ये एक हुन् । नयाँ नेतृत्वपछि लुम्बिनीमा कांग्रेसको अवस्था, निर्वाचनको तयारी, आन्तरिक असन्तुष्टि व्यवस्थापन र बाँकेबाट उम्मेदवारीका विषयमा पुनसँगको कुराकानी ।
चुनावी तयारी कसरी गरिरहनुभएको छ ?
– हामी चुनावी तयारीमा व्यस्त छौँ । अहिले वडा तहसम्म प्रचार-प्रसार कार्यालयहरू खोलिएका छन् । वडा तहका अगुवा साथीहरूसँग भेटघाट भइरहेको छ । फागुन ४ गतेपछि निर्वाचन प्रचार–प्रसारलाई अझ गतिशील बनाउने र विभिन्न कार्यक्रमहरू गर्ने योजना छ । अहिले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई परिचालन गर्ने तयारी भइरहेको छ भने समूहगत रूपमा भेटघाट र आन्तरिक तयारी तीव्र पारिएको छ ।
विशेष महाधिवेशनपछि नेपाली कांग्रेसमा नयाँ नेतृत्व आयो । प्रदेशमा कस्तो सन्देश पाउनुभएको छ ? असन्तुष्ट पक्षलाई कसरी समेट्नुभएको छ ?
– कांग्रेसमा पहिले जुन गुटगत समस्या थियो, विशेष महाधिवेशनपछि त्यो करिब अन्त्य भएको छ । अहिले कांग्रेस सच्चिएर, सुध्रिएर र नयाँ रूपमा आएको छ । यसबाट आम कार्यकर्तामा उत्साह छाएको छ, विशेष गरी लुम्बिनीमा हामीले राम्रो प्रतिक्रिया पाएका छौँ । पार्टी नीतिगत र नेतृत्वगत रूपमा नयाँ सोचका साथ अगाडि बढेको छ । त्यसैले अहिलेको परिस्थितिमा कांग्रेसलाई मतदान गर्नुको विकल्प छैन भन्ने जागरण सबैमा छ ।
तल्लो तहका साथीहरूले विशेष महाधिवेशनले पार्टी जोगाएको बुझिसक्नुभएको छ । जेन्जी समूहले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्दै कांग्रेस अगाडि बढेको सन्देश गाउँ–गाउँसम्म पुगेको छ । पार्टीमा कुनै ठूलो विवाद वा अस्वीकारको स्थिति छैन । केही साथीहरूको चित्त दुखेको हुन सक्छ, तर उहाँहरूलाई मिलाएर लैजान नेतृत्व पंक्ति सक्रिय छ ।
तपाईंको घर रोल्पा हो, तर बाँकेबाट उम्मेदवार बन्नुभएको छ । रोल्पाबाट डराउनुभएको हो कि बाँकेसँग केही खास सम्बन्ध छ ?
– मेरो रोल्पा र बाँके दुवै ठाउँमा घरवास छ । बाँकेमा रोल्पाभन्दा पार्टीको सङ्गठन बलियो छ । मेरो मतदाता नामावली रोल्पामा भए पनि लामो समयदेखि बाँकेमा राजनीतिक जिम्मेवारीसहित बस्दै आएकाले यहाँ धेरै काम गरेको छु । मेरा प्रेरणाका स्रोत श्रद्धेय सुशील कोइरालाको निर्वाचन क्षेत्र भएकाले उहाँसँग नजिक हुँदा बाँकेसँग विशेष सम्बन्ध रह्यो । अर्को कुरा, द्वन्द्वकालमा म बाँकेमै विस्थापित भएर बसेको थिएँ । कानुनी रूपमा १६५ वटा निर्वाचन क्षेत्रमध्ये जो जहाँबाट पनि उठ्न मिल्छ । सङ्गठनको आवश्यकता र पार्टीले दिएको जिम्मेवारीका कारण मैले बाँके रोजेको हुँ । प्रदेश सभापति भएकाले मेरा लागि १२ वटै जिल्ला उत्तिकै महत्त्वपूर्ण छन् ।
तपाईंको आफ्नो मतदान गर्ने ठाउँ चाहिँ कुन हो ?
– मेरो मतदाता नामावली रोल्पामा छ, तर म उम्मेदवार बाँकेमा छु । मेरो जिम्मेवारी भने सबै जिल्लामा उत्तिकै छ ।
पार्टीले तपाईंलाई किन बाँकेमै खटायो ?
– बाँकेका साथीहरूको सिफारिस र आग्रहका कारण म यहाँ आएको हुँ । स्थानीय उम्मेदवारहरूबीच कहिलेकाहीँ एकले अर्कोलाई स्वीकार नगर्ने स्थिति हुँदा ‘तपाईं आउनुभयो भने सबैका लागि सर्वस्वीकार्य हुन्छ’ भन्ने साथीहरूको भनाइ रह्यो । मेरो पनि यहाँ व्यक्तिगत सम्बन्ध छ । वर्तमान परिस्थितिको नेतृत्व गर्न सक्ने र यहाँका समस्याको निकास दिन सक्ने उम्मेदवारका रूपमा आम नागरिकले मलाई सकारात्मक रूपमा लिनुभएको छ ।
बाँके क्षेत्र नं ३ को उम्मेदवार र प्रदेश सभापति हुनुका नाताले, बागी उम्मेदवारहरूका बारेमा के सोच्नुभएको छ ?
– पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगर्ने बागी र उनीहरूलाई समर्थन गर्नेहरूलाई विधान अनुसार कारबाही हुन्छ । तर, हामी कारबाहीभन्दा पनि संवाद र समन्वयलाई प्राथमिकता दिइरहेका छौँ । उहाँहरूलाई सम्झाई–बुझाई पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने वातावरण बनाउन हामी लागिपरेका छौँ ।
लुम्बिनी प्रदेशमा बागी उम्मेदवारहरूको अवस्था कस्तो छ ?
– बागी उम्मेदवार धेरै ठाउँमा छैनन् । कपिलवस्तु–१ मा केही देखिएको छ, अन्य स्थानमा त्यस्तो सशक्त प्रभाव छैन । हामीले धेरै ठाउँमा समन्वय गरिसकेका छौँ ।
२०७९ को निर्वाचनमा लुम्बिनीका २६ मध्ये ६ क्षेत्रमा मात्र कांग्रेसले जितेको थियो । यसपालिको लक्ष्य के हो ?
– अहिलेको अवस्थामा कांग्रेसले धेरै स्थानमा जित्ने तथ्याङ्क देखिएको छ । २६ मध्ये १६ स्थानमा हामी निकै अगाडि छौँ र बाँकी क्षेत्रमा पनि कडा प्रतिस्पर्धा छ । माहोल कांग्रेसको पक्षमा बन्दै गएको छ ।
जनताले कांग्रेसलाई नै किन बहुमत दिने ?
– राजनीतिक व्यवस्थापनलाई सही दिशामा ल्याउन, संविधान परिमार्जन गरी नागरिकका हक अधिकार सुनिश्चित गर्न र देशमा स्थिरता ल्याउन कांग्रेसकै आवश्यकता छ । इतिहासले पनि यो पुष्टि गरिसकेको छ । कांग्रेस अहिले सच्चिएर र नयाँ नीतिसहित आएकाले सबैका माग सम्बोधन गर्दै अघि बढ्नेछ ।
यो कुरा कार्यकर्तासम्म पुगेको छ त ?
– हामीले यो सन्देश आम कार्यकर्तासम्म पुर्याएका छौँ । विशेष महाधिवेशनपछि कांग्रेस बलियो बनेको कुरा केवल नेताले मात्र होइन, आम कार्यकर्ताले बोल्न थालेका छन् ।
टिकट नपाएका पुराना अनुहारहरूको असन्तुष्टिलाई कसरी सम्बोधन गर्नुहुन्छ ? केहीले त पार्टी नै छाडेका छन् नि ?
– सधैँ एउटै व्यक्तिले टिकट पाउँछ भन्ने हुँदैन, समय अनुसार परिवर्तन आवश्यक छ । असन्तुष्ट साथीहरूलाई कांग्रेसको आवश्यकता बुझाएर आश्वस्त पार्ने काम भइरहेको छ । उपसभापति विश्वप्रकाश शर्मा आफैँ रुपन्देही, बाँके र बर्दिया पुगेर संवाद गर्नुभएको छ । सबैलाई अपनत्व महसुस गराएर हामी एकजुट भएर अगाडि बढ्नेछौँ ।
अहिले ‘नयाँ शक्ति’ को चर्चा पनि निकै छ, यसले कस्तो प्रभाव पार्ला ?
– लुम्बिनीमा नयाँ शक्तिको चर्चा सामाजिक सञ्जालमा मात्र सीमित छ । जनताले दुःखसुखमा साथ दिने र योजना भएका नेता नै खोज्छन् । केवल लहड वा भावनामा बगेर जनमत जाँदैन भन्नेमा म ढुक्क छु । विचार र ठोस एजेन्डा नभएकाहरूलाई जनताले विश्वास गर्ने छैनन् ।
प्रदेशमा मुख्य प्रतिस्पर्धा कोसँग होला ?
– क्षेत्र अनुसार प्रतिस्पर्धा फरक छ । कतै एमाले, कतै रास्वपा त कतै नेकपासँग प्रतिस्पर्धा देखिन्छ । तर अधिकांश स्थानमा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुनेछ । हामी पहिलो दल बन्नेछौँ ।
अन्त्यमा, के भन्न चाहनुहुन्छ ?
– म लुम्बिनीबासी र विशेष गरी बाँके क्षेत्र नं ३ का मतदातालाई आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गर्दछु । कुनै लहड वा आवेशमा नभई वास्तविक रूपमा जनताका लागि काम गर्ने पार्टी र नेता छानेर मतदान गरिदिनुहुन मेरो अनुरोध छ ।
रामप्रसाद आचार्य/ नेपाल प्रेसबाट









