काठमाडौँ चैत्र । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा ले आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको भन्ने समाचारप्रति प्रतिक्रिया जनाउँदै उक्त विषयमा भ्रमपूर्ण र झुटा प्रचार भइरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै उनले आफ्नो सम्पत्तिसम्बन्धी सबै विवरण नेपाल सरकारका सम्बन्धित निकायमा कानुनअनुसार पेश गरिसकेको स्पष्ट पारे। सार्वजनिक पदमा रहँदा आफूले पारदर्शिता कायम गरेको र आफ्नो जीवन खुला पुस्तकझैँ रहेको उनको दाबी छ।
देउवाले देशमा लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन र स्वतन्त्र न्यायपालिका सुदृढ बनाउने अभियानमा आफू निरन्तर लागेको उल्लेख गर्दै यस्ता आरोपहरूले सत्यलाई ओझेलमा पार्न नसक्ने बताए। उनले २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र आफ्नै प्रधानमन्त्रीकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू गरिएको स्मरण गराउँदै सुशासनप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याए।
हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवाले आफ्नो उपचार प्रक्रिया जारी रहेको जानकारी दिँदै वास्तविकता समयसँगै स्पष्ट हुने विश्वास व्यक्त गरेका छन्। साथै, उनले अतिरञ्जित र अपुष्ट सूचनामा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।











