धनगढी बैशाख २६ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवाको हैसियत प्रष्ट पार्नु पर्ने बताएका छन ।
साे कुरा शनिबार धनगढीमा आयोजित नेपाली कांग्रेसको सुदूपश्चिम प्रदेश स्तरीय भेलामा मुख्यमन्त्री शाहले देउवाको हैसियतबारे प्रश्न उठाएका हुन्।
मुख्यमन्त्री शाहले पार्टीका निवर्तमान सभापति देउवालाई टिकट नदिनुका कारणबारे वर्तमान सभापति गगनकुमार थापालाई प्रश्न गर्दै जेनजी आन्दोलन, देउवा दम्पतिमाथिको कुटपिट र टिकट पाउनबाट बञ्चित भएकोलगायतका विषय उठाउँदै सभापति थापालाई प्रश्न गरेका थिए ।
‘२३ र २४ गतेको शेरबहदुर देउवा र आरजु राणामाथि भएको आक्रमण स्वभाविक हो कि अस्वभाविक हुन् ? देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक ? त्यो सभापतिले भन्नु पर्छ,’ शाहले भने । देउवालाई टिकट दिनबाट बञ्चित गराइनुको कारण सोध्दै उनले अब देउवाको स्थान के हुने ? भन्दै प्रश्न गरेका थिए ।गगन थापालाई सभापति बनाउने र मान्ने कुरामा कुनै विमति नभएको बताउँदै सिंगो कांग्रेसलाई एकताबद्ध बनाउने जिम्मेवारी पनि सभापति थापाकै काँधमा रहेको पनि उनले बताएका छन् । ‘अबको १० बर्षसम्म सिंगो नेपाली कांग्रेसको सभापति गगन थापा हुनुपर्छ तर, तपाईंको कार्यसमितिभित्र पनि भाइरसहरू छन् तिनले तपाईंलाई समाप्त पार्न सक्छन्,’ उनले भने । उनले सिंगो नेपाली कांग्रेसलाई एक बनाएर अघि बढ्न सभापति थापालाई सुझाव समेत दिएका छन् ।









