लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले नै निरन्तरता पाउने भएका छन् । नेकपा एमाले र नेकपाबीच केन्द्रमा भएको तीन बुँदे सहमतिमा लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने उल्लेख थियो । एमालेले नेतृत्व पाउने सहमति भए पनि आचार्यलाई निरन्तरता दिने कि अर्कोलाई बनाउने भन्ने प्रष्ट भएको थिएन ।
मुख्यमन्त्रीका लागि एमालेभित्र वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री लिला गिरी, पूर्वमन्त्री भूमिश्वर ढकाल, संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले आकांक्षा राखेर लबिइङ गरेका थिए । यसबीचमा पार्टी पुनर्गठनको विषयमा अध्यक्ष केपी ओलीको पक्षमा उभिएका पूर्वमन्त्री भूमिश्वर ढकाललाई मुख्यमन्त्री बनाउन ओलीले चाहेको समाचारहरू सार्वजनिक भएका थिए । तर त्यसप्रति प्रदेशमा पार्टीभित्र चर्को विरोध र असन्तुष्टि उत्पन्न भएको थियो ।
आचार्यले काठमाडौं पुगेर अध्यक्ष ओलीलाई भेटेका थिए । सो भेटपछि अध्यक्ष ओलीले आफैंलाई मुख्यमन्त्रीमा निरन्तरता दिन सहमत भएको आचार्यले दाबी गरेका छन् ।
‘काठमाडौं गएर अध्यक्षलाई भेटेपछि उहाँले अहिलेकै नेतृत्वलाई निरन्तरता दिन निर्देशन दिनुभएको छ,’ आचार्यले जनाउदै भने, ‘अब प्रदेशसभाको कार्यकाल एक वर्ष पनि नभएको, बजेटसमेत पारित भइसकेको अवस्थामा सरकारको नेतृत्व फेरबदल गरिरहँदा जनस्तरमा पनि नकारात्मक सन्देश जान्छ भन्ने बुझेर पनि होला अध्यक्षज्यूले अर्को निर्णय गर्नुभएन ।’ साभार अनलाइन खबरबाट









